विश्वासको मत पाएपछि लुम्बिनी प्रदेश सरकार राजधानीको पूर्ण कार्यान्वयनमा जुटेको छ । अघिल्लो सरकारले मुख्यमन्त्री कार्यालय र १३ वटा मन्त्रालय राजधानी क्षेत्रमा स्थापना गरेको थियो तर पूर्वाधार अभावका कारण मन्त्रालयको कामकाज पूर्ण रूपमा सञ्चालन गर्न सकिएको थिएन ।
जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको ठहर गर्दै मिचेको सार्वजनिक जग्गा खाली गर्न रिसोर्ट सञ्चालकका नाममा आदेशसमेत दिएको छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालका तीर्थस्थलहरूमध्ये पूर्वी नवलपरासीको त्रिवेणीधाममा शनिबारदेखि माघेऔँसी मेला सुरु भएको छ। तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति छ। माघेऔँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइपुगेका छन्। माघेऔँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी साप्ताहिक रूपमा यस वर्ष शहीद दिवस मनाउने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा बसेको मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो।
छिमेकी मुलुक भारतबाट गहुँ आयात गर्न सरकारले उद्योगका लागि कोटा निर्धारण गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयात गर्न कोटा निर्धारण गरेको हो। गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भारतले पुस पहिलो साता चार महिनाभित्रमा आयात गरिसक्ने गरी नेपालका लागि ५० हजार मेट्रिक टन गहुँ निर्यातको अनुमति दिएको थियो। त्यसअनुसार पहिलो चरणको ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा निर्धारण गरिएको हो। गहुँ आयातको अनुमति पाएका उद्योगले आगामी चैत दोस्रो सातासम्म गहुँ आयात गरिसक्नुपर्नेछ।
सुर्खेतमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रि–धार्मिक स्थल तपोभूमि हलेसीमा आउने पर्यटकले यथार्थ बुझ्न पाउने भएका छन्। हलेसी र आसपासका पर्यटकीय क्षेत्रका बारेमा पर्यटक घुमाउन र यथार्थ बुझाउन नगरपालिकाले गाइड (मार्गदर्शक) तालिम प्रदान गरेको छ। नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम)सँगको सहकार्यमा नगरपालिकाले ३१ जनालाई स्थानीय पर्यटक गाइडसम्बन्धी आठदिने तालिम प्रदान गरेको हो। तालिमको समापनसँगै पर्यटन गाइड उत्पादन भएका छन्। तालिमबाट हलेसी र आसपासका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुरा पर्यटकलाई बुझाउन सकिने भएको सहभागी मोतीराज राईले बताउनुभयो।
ताप्लेजुङमा निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनाको ७५ प्रतिशतभन्दा बढी काम भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ७३ मेगावाट क्षमताको यो आयोजनाको निर्माण कार्य कोरोना महामारीमा पनि रोकिएको थिएन। ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका–१, सावादिन, मिक्वाखोला गाउँपालिका–१ र २ (खोक्लिङ) र फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा मुख्य संरचना रहने गरी आयोजना निर्माण भइरहेको छ। निर्माणाधीन आयोजनाको हालसम्म तीन हजार ३७० मिटर लम्बाइ र ६.५ मिटर चौडाइ तथा उचाइ भएको सुरुङ निर्माण सम्पन्न भइसकेको छ।
सिमकोट गाउँपालिकाले स्थानीय रैथाने बालीको खरिदका लागि अतिरिक्त अनुदान दिने भएको छ। यो अनुदान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तय गरेको खरिद मूल्यमा थप हो। गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले रैथाने बालीको उत्पादन खरिद मूल्यमा गाउँपालिकाले अतिरिक्त अनुदान दिने जानकारी दिनुभयो। किसानलाई रैथाने बाली उत्पादनका लागि प्रोत्साहन गर्न अतिरिक्त अनुदान दिने निष्कर्षमा गाउँपालिका पुगेको हो।
नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेको छ। जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँ अहिले सुक्न थालेका हुन्। वर्षौं पुरानो इनार र कुवामा पानी रसाउनै छाडेको स्थानीयवासीले बताएका छन्। इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयवासीलाई खानेपानीको समस्या हुन थालेको छ। लालबन्दी नगरपालिका–१५, भित्री खोलाका पदमबहादुर वाइबाले पहिले जसरी कुवामा पानी रसाउन छाडेको जानकारी दिनुभयो।
सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माण पूरा भई हस्तान्तरणसमेत भएको हो। बसपार्क निर्माणको काम सकिएपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गर्नुभएको छ।
धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा हाट डाँडामा साप्ताहिक रूपमा बुधबार हाट लाग्ने गरेको छ। यहाँको हाट अन्यत्रको भन्दा धेरै नै फरक छ। अन्यत्र मुद्रामार्फत वस्तु तथा सेवाको खरिद–बिक्री हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ। परापूर्वकालदेखि हालसम्म पनि यहाँको हटियामा वस्तु विनिमय गर्ने प्रचलन कायमै छ। वस्तु विनिमय प्रथा धेरैका लागि अनौठो हुन सक्छ। आधुनिकतासँगै यो प्रथा पनि सबैतिर लोप भइसकेको छ। धनकुटाको यो हाटले अहिले पनि यही प्रथा जोगाइरहेको छ। भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन्। वस्तु विनिमय मुद्राको कारोबार हुनुभन्दा अघिको प्रचलन हो।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ। कृषि विकास बैङ्क ५६औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यो चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारका लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगङ्गा आँखा केन्द्रलाई मानित विश्वविद्यालयका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँसँग तिलगङ्गा आँखा केन्द्रका कार्यकारी निर्देशक एवं वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले गर्नुभएको भेटमा प्रधानमन्त्रीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।