• १२ मंसिर २०८१, बुधबार

कृषि विकास बैङ्क ५६औँ वर्षमा प्रवेश

मितव्ययिताको पक्षमा अर्थ मन्त्रालय

blog

काठमाडौँ, माघ ८ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउनुभएको छ। 

कृषि विकास बैङ्क ५६औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यो चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले अर्थ मन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारका लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनुभयो। 

बजेट कार्यान्वयनको छ महिना बितिसक्दासमेत राजस्व सङ्कलनमा चालू आर्थिक वर्षको लक्ष्य हासिल हुन नसकेको जानकारी गराउँदै उहाँले गत आर्थिक वर्षमा यही समयमा भएको राजस्व सङ्कलन बराबरको समेत हुन नसकेको बताउनुभयो।

अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोग परिचालनका सन्दर्भमा समेत समस्या रहेको बताउनुभयो। साधारण खर्च उच्चतम सीमामा पुगेको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “पुँजीगत खर्च अहिले पनि १४–१५ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ। बजेटको मध्यावधि समीक्षा गर्ने बिन्दुमा आइपुग्दासमेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारका लागि चुनौती हो।’’

उहाँले पछिल्लो समय कृषि क्षेत्रको लगानी घट्दै गइरहेको र अरू क्षेत्रको लगानी बढ्दै गइरहेको अवस्थामा क्रमशः सुधारको आवश्यकता औँल्याउनुभयो। यो अवस्थामा कृषि विकास बैङ्क कृषि क्षेत्रको नेतृत्वदायी बैङ्कका रूपमा स्थापित हुनुपर्ने उहाँले बताउनुभयो।

व्यावसायिक दक्षताको आधारमा अग्रणी बैङ्क बन्ने अठोटलाई साँचो अर्थमा बदल्न प्रभावकारी नेतृत्व र नतिजा दिन सक्ने पात्र छनोट हुनुपर्ने भन्दै उहाँले बैङ्क सञ्चालनका लागि सक्षम पात्रको छनोट गर्ने क्रममा सरकारले बाधा होइन सहयोग र सहजीकरण गर्ने बताउनुभयो। सो अवसरमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कले कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफ्नो बैङ्किङ व्यवसाय सञ्चालन गरेको भन्दै कृषकका लागि आवश्यक कर्जा व्यवस्थापनका साथै कृषि तालिममार्फत कृषकको क्षमता अभिवृद्धि गर्दा कृषि उत्पादकत्व बढ्ने र समग्र अर्थतन्त्रको विकास र विस्तारमा योगदान पुग्ने बताउनुभयो।

नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कले परिलक्षित गरेका कार्यक्रमको कार्यान्वयनमा समेत सहयोग पु-याउँदै आएको र भविष्यमा समेत निरन्तरता दिने विश्वास उहाँले व्यक्त गर्नुभयो। बैङ्कले कृषिमा लगानी मात्रै नभएर कृषिमा तालिमका कुरालाई पनि अगाडि बढाएर नेतृत्वदायी भूमिका निर्वाह गर्न उहाँले आग्रह गर्नुभयो।

बैङ्क सञ्चालक समितिका अध्यक्ष रमेश दुवाडीले कृषि विकास बैङ्क नेपाल सरकार तथा नेपाल राष्ट्र बैङ्कको नीति निर्देशन तथा प्राथमिकतालाई समेत ध्यानमा राख्दै निर्दिष्ट जिम्मेवारी वहन गरी प्रतिस्पर्धात्मक बजारमा दक्ष जनशक्ति उच्च प्रविधिका साथ ग्राहकको सन्तुष्टिलाई आफ्नो लक्ष्य बनाई वित्तीय क्षेत्रमा गरिएका सफल अभ्यास र वित्तीय औजारको माध्यमबाट आधुनिक र उन्नत सेवा प्रदान गर्न अग्रसर रहेको बताउनुभयो।

बैङ्कका निमित्त प्रमुख कार्यकारी निर्देशक प्रताप सुवेदीले अत्याधुनिक वाणिज्य बैङ्किङ सेवालाई सहरदेखि गाउँसम्म आधुनिक प्रविधिमार्फत जाड्ने कार्य भइरहेको चर्चा गर्दै सम्पूर्ण बैङ्किङ सुविधासहितको तपाईं हाम्रो घरआँगनको बैङ्कको अनुभूति दिन बैङ्क सधैँ क्रियाशील रहेको बताउनुभयो।

हाल कृषि विकास बैङ्कको कुल अधिकृत पुँजी २५ अर्ब रुपियाँ र जारी तथा चुक्ता पुँजी १८ अर्ब ६२ करोड रुपियाँ रहेको छ। यसमध्ये साधारण चुक्ता पुँजी १३ अर्ब १८ करोड रुपियाँ रहेको छ जसमा नेपाल सरकारको हिस्सा ५१ प्रतिशत र करिब तीन लाख सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत रहेको छ। कार्यक्रममा बैङ्कका उत्कृष्ट शाखा, कर्मचारी तथा ग्राहकलाई सम्मान गरिएको थियो।