• १ जेठ २०८२, बुधबार

सुक्न थाले इनार र कुवा

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ ८ गते । नदीजन्य पदार्थको व्यापक उत्खनन र बढ्दो वन विनाशका कारण सर्लाहीमा परम्परागत खानेपानीका स्रोतमा पानी आउन छाडेको छ। 

जिल्लामा दशकौँ पुराना इनार, कुवा र पानी रसाउने अन्य ठाउँ अहिले सुक्न थालेका हुन्। वर्षौं पुरानो इनार र कुवामा पानी रसाउनै छाडेको स्थानीयवासीले बताएका छन्। 

इनार र कुवा सुक्दै गएपछि ग्रामीण भेगमा बसोबास गर्ने स्थानीयवासीलाई खानेपानीको समस्या हुन थालेको छ। लालबन्दी नगरपालिका–१५, भित्री खोलाका पदमबहादुर वाइबाले पहिले जसरी कुवामा पानी रसाउन छाडेको जानकारी दिनुभयो। 

केही वर्षअघिसम्म जिल्लाको बाँके, फूलजोर, कालिञ्जोर, लखन्देहीलगायत खोलाका किनारमा प्रशस्त कुवा हुन्थे तर अहिले भने ती कुवामा पानी रसाउन छाडेपछि मासिँदै गएका छन्।

चुरेभेगका बस्तीमा खानेपानीको धारा नै नरहेको र कुवासमेत सुक्दा आगामी दिनमा खानेपानीको अभाव चर्किंदै जाने चिन्ता व्यक्त गर्नुभयो। वाइबाले भन्नुभयो, “खानेपानीको अभावमा पाखोभित्तामा बसोबास गर्ने मजस्ता धेरै परिवार बसाइँ सरेर अन्यत्र गइसके, बस्ती पातलो हुँदै गएका छन्। गरिबीका कारण अन्यत्र बसाइँ सरेर जान नसक्ने हामीजस्तालाई खानेपानीकै अभावले पिरोल्न थालेको छ।” 

हिउँद महिनाभर चुरे भेगमा खानेपानीको समस्या हुने गर्छ। जिल्लाको लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकाको उत्तरी चुरेभेगका बासिन्दा अहिले पनि खोलाखोल्साको दूषित पानी पिउन बाध्य छन्। 

ईश्वरपुर नगरपालिका–१२, अड्डी गाउँकी मैयाँ तामाङले खानेपानी सुक्दै जान थालेपछि पाखोभित्तामा बसोबास गर्न र बस्तुभाउ पाल्न मुस्किल पर्न थालेको गुनासो गर्नुभयो। चुरेफेदीका धेरै बस्तीमा पालिका र विभिन्न सङ्घसंस्थाले खानेपानीको धारा पु-याए पनि डाँडापाखाका विकट बस्तीमा भने भएकै कुवासमेत सुक्न थालेपछि समस्या बढ्न थालेको हो। 

डिभिजन खानेपानी कार्यालय मलङ्गवाका इन्जिनियर शिवशङ्कर रौनियारले भूमिगत पानीको सतह घट्दै गइरहेकाले यस्तो समस्या आएको बताउनुभयो। रौनियारले भन्नुभयो, “बढ्दो वन विनाश र सहरीकरणले गर्दा जमिनमुनि पानीको सतह घट्दै गएको र जरुवाहरू सुक्दै गएका हुन्। वनजङ्गलको संरक्षण र नदीजन्य पदार्थको मनपरी उत्खनन नरोके अझ समस्या बढ्न सक्छ।” 

रौनियारले ग्रामीण बस्तीमा खानेपानी पु-याउनका लागि डिभिजन खानेपानी कार्यालयले पालिकाहरूसँग समन्वय गरी काम गरिरहेको बताउनुभएको छ।