कविराज घिमिरे
हिले, माघ ८ गते । धनकुटाको महालक्ष्मी नगरपालिकाको चानुवा हाट डाँडामा साप्ताहिक रूपमा बुधबार हाट लाग्ने गरेको छ। यहाँको हाट अन्यत्रको भन्दा धेरै नै फरक छ। अन्यत्र मुद्रामार्फत वस्तु तथा सेवाको खरिद–बिक्री हुन्छ तर यहाँ भने अहिले पनि वस्तुसँग वस्तु नै साटिन्छ।
परापूर्वकालदेखि हालसम्म पनि यहाँको हटियामा वस्तु विनिमय गर्ने प्रचलन कायमै छ। वस्तु विनिमय प्रथा धेरैका लागि अनौठो हुन सक्छ। आधुनिकतासँगै यो प्रथा पनि सबैतिर लोप भइसकेको छ। धनकुटाको यो हाटले अहिले पनि यही प्रथा जोगाइरहेको छ।
भोजपुरको जरायोटारबाट लामपाते सुर्ती, होम्ताङबाट बदाम लिएर हाट भर्न आउने स्थानीय बासिन्दा महालक्ष्मी नगरपालिकाको डाँडागाउँ, चानुवा, मारेककटहरेका माथिल्लो भेगका बासिन्दासँग तरकारी साट्ने गर्छन्। वस्तु विनिमय मुद्राको कारोबार हुनुभन्दा अघिको प्रचलन हो।
वस्तु विनिमय प्रचलन अन्य स्थानका हाटबजारमा हराउँदै गइरहे पनि यहाँ हटियामा कायम रहेको डाँडागाउँकी लक्ष्मी बस्नेतले बताउनुभयो। उहाँका अनुसार पहिले धेरै वस्तु साटासाट गर्ने चलन थियो। अहिले भने कम हुन थालेको छ तर चलन भने हराएको छैन।
भौतिक रूपमा बजार जानु त के कुरा घरबाटै बाहिर ननिस्किन अनलाइनमामै समेत वस्तु खरिद–बिक्री गर्ने चलन आइसकेको छ। सहरी क्षेत्रमा अधिकांश कारोबार नोटबिनै डिजिटल प्रविधिबाट हुन थालेका छन् तर धनकुटाको ग्रामीण क्षेत्रमा लाग्ने हाटले भने अहिले पनि मौलिक परम्परा जोगाइरहेको छ। यो हाटमा अहिले पनि नगद दिएर सामान किन्ने मात्र होइन वस्तु विनिमयसमेत हुने गरेको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शुक्रबहादुर बुढाथोकी बताउनुहुन्छ।
वस्तु विनिमयको कारण औल (बेँसी)मा फलेको उत्पादन लेकका किसानले खान पाउँछन् भने लेकमा फलेको उत्पादन औलाका किसानले खान पाउँछन्। यहाँ हटिया भर्न आउने किसानले मूल्याङ्कन वस्तुको आधारमा गर्छन्। साटासाट गर्दा वस्तुअनुसार बराबरीमा भाग लगाउने गर्छन्। हाट भर्न आएका किसानले आफूले ल्याएको तरकारी डुलाउँदै आफूलाई चाहिने खोज्दै साट्छन्।
गाउँगाउँमा सडक सञ्जाल पुगेपछि ढाकरमा कृषिजन्य सामग्री बोकेर ल्याउने प्रचलन अहिले यथावतै छ। हटियाको सुरुवात नै वस्तु विनिमयबाट भएको महालक्ष्मी नगर कार्यपालिका सदस्य कुलबहादुर सुन्दास बताउनुहुन्छ। उक्त बुधबारे हटिया चार जिल्लाको सङ्गम स्थानमा छ। धनकुटा, भोजपुर, सङ्खुवासभा र तेह्रथुमका स्थानीय हाट भर्न यहाँ आउने गरेका छन्।