नवलपरासी समाचारदाता
त्रिवेणीधाम (नवलपरासी), माघ ८ गते । धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले नेपालका तीर्थस्थलहरूमध्ये पूर्वी नवलपरासीको त्रिवेणीधाममा शनिबारदेखि माघेऔँसी मेला सुरु भएको छ।
तीन दिनसम्म लाग्ने माघेऔँसी मेलामा नेपाल र भारतका भक्तजनको उल्लेख्य उपस्थिति छ। माघेऔँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणीधाममा आइपुगेका छन्। माघेऔँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
भारतको विहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका छन्। विगतका वर्षमा कोरोना महामारीका कारण लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ। शुक्रबारदेखि नै आएका भक्तजन त्रिवेणीधाममा दर्जनौँ मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन्। त्रिवेणीधाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको छ भने स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो।
नारायणी नदीका घाटहरू स्नानका लागि व्यवस्थित गरिएको छ। नारायणी नदीमा डुङ्गा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ। मेलाको भीडभाडमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको सङ्ख्या पनि बढाइएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो।
माघेऔँसीमा त्रिवेणीधाममा स्नान गर्न देवताहरूसमेत आउने जनविश्वास रहेकाले औँसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो।
स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको सङ्गममा रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक तीर्थस्थलका रूपमा रहेको त्रिवेणीधाममा यो वर्ष पनि विगतका वर्षजस्तै धेरै तीर्थालुले दर्शन गर्न सक्ने मेला व्यवस्थापन समितिले जनाएको छ। गत वर्ष तीन लाख तीर्थालुले माघेऔँसीमा त्रिवेणीको दर्शन गरेका र यो वर्ष चार लाखसम्म पुग्ने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका सदस्य आरपी उपाध्यायले बताउनुभयो ।
स्वामी कृष्ण प्रपन्नाचार्यका अनुसार त्रिवेणीधाम त्रेतायुगमा वाल्मीकि ऋषिको तपोभूमि, लवकुशको जन्मस्थल, सीतामाता धर्तीबाट पाताल प्रवेश गरेको स्थल भएकाले यो स्थान ऐतिहासिक धार्मिक स्थलका रूपमा प्रसिद्ध छ।
भगवान् मुक्तिनाथको चरणपादुका स्थल पनि भएकाले यसको ठूलो धार्मिक महत्व रहेको धार्मिक विश्वास छ। परापूर्वकालमा हात्ती र गोहीको लडाइँमा भगवान् नारायणले अवतार लिएर हात्तीलाई मोक्ष दिलाएका कारण यस धामलाई गजेन्द्र मोक्ष धाम भन्ने गरिएको जनविश्वास छ।