• ३ पुस २०८१, बुधबार

सुविधा सम्पन्न बसपार्क निर्माण

blog

सर्लाही समाचारदाता

सर्लाही, माघ ८ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सुविधा सम्पन्न बसपार्क निर्माण भएको छ। मलङ्गवा नगरपालिका–२ स्थित जिल्ला प्रहरी कार्यालय छेउमा सुविधा सम्पन्न बसपार्क निर्माण पूरा भई हस्तान्तरणसमेत भएको हो। 

बसपार्क निर्माणको काम सकिएपछि सङ्घीय आयोजना कार्यान्वयन एकाइ जनकपुरधाम, धनुषाका प्रमुख प्रदीप खनालले मलङ्गवाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवलाई बसपार्कको साँचो हस्तान्तरण गर्नुभएको छ। 

राम कविर मठले उपलब्ध गराएको २५ रोपनी जग्गामा बसपार्क निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार कनकाई इन्टरनेसनल बिल्डर्स सुरुङ्गा, झापाले आठ करोड ३१ लाख रुपियाँ लागतमा बसपार्क निर्माणको काम पूरा गरेको हो। 

बसपार्कमा अढाइतले टर्मिनल भवन, सार्वजनिक शौचालय, खानेपानी, यात्रु प्रतीक्षालय, वर्कसप क्षेत्र, पार्किङलगायतका सुविधा रहेको निर्माण कम्पनीले जनाएको छ। नवनिर्मित बसपार्कमा तत्काल ५२ वटा ठूला र २० वटा साना सवारी पार्किङ गर्न सकिन्छ। 

नगरप्रमुख नागेन्द्रप्रसाद यादवले बसपार्क निर्माणले नगरलाई व्यवस्थित बनाउन टेवा पुगेको बताउनुभयो। यसले नगरको विकासमा समेत मद्दत पुगेको नगरप्रमुख यादवको भनाइ छ। 

नगरपालिकाले कार्यविधि बनाएर चाँडै नै नवनिर्मित बसपार्क सञ्चालनमा ल्याउने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो। बसपार्कको नगरप्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत गौतम, मलङ्गवा–२ का वडाध्यक्ष धीरेन्द्र साह, प्राविधिक र अन्य कर्मचारीको टोलीले अनुगमनसमेत गरेको छ। 

मलङ्गवा–९ हाल रहेको पुरानो बसपार्क अत्यन्तै साँघुरो र अव्यवस्थित छ। बस व्यवसायीले सुरुमा अहिले निर्माण भएको बसपार्क टाढा पर्ने भएकाले त्यहाँ बस लैजान अस्वीकार गरेका थिए। अहिले भने नयाँ बसपार्कमा जान सहमत भएका छन्। 

मलङ्गवा यातायात सेवा प्रालिका अध्यक्ष राजीव यादवले आफूहरू नयाँ बसपार्कबाट बस सञ्चालनका लागि तयार रहेको बताउनुभएको छ। बसपार्क सञ्चालन कार्यविधिका सम्बन्धमा नगरपालिकासँग छलफलमै रहेको उहाँले बताउनुभयो।