मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले करिब तीन अर्ब रुपियाँ बराबरको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी दुई अर्ब ८२ करोड १४ लाख ७० हजार रुपियाँ बराबरको नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आर्थिक रूपमा देखिएको अस्थिरता र प्रतिकूल अवस्थाको समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिकाले बुद्ध जयन्तीको अवसरमा शुक्रबार रामग्राम स्तूपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
लालबन्दी नगरपालिकाका वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय वृद्धवृद्धाले गुनासो गर्नुभएको छ। लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन बसेको बताउनुभयो। भत्ता बुझ्नका लागि बस्नेतससहित परवानीपुरका छ जना वृद्धा टेप्पु चढेर बिहान ८ बजे नै लालबन्दी आइपुग्नुभएको भेटिनुभयो। बैङ्क खुलेपछि पनि झरीमा भिज्दै बैङ्कमा लाइन बस्नेहरूको ठूलो भीड देखिन्थ्यो।
काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको छ। वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडाैँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन्। जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ। हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने जात्राको पहिलो दिन बिहान मत पूजा (चिराग यात्रा) गरियो। धिमे, नायिखङ्ग, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्ना घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको संस्कृतिविद् गणेशराम लाछीले जानकारी दिनुभयो।
दोलखाको सैलुङ गाउँपालिकामा रहेको मुडे–देउराली–बाघखोर सडक निर्माण सुरु भएको साढे दुई दशकपछि कालोपत्रे हुन थालेको छ। सडक ट्र्याक खोलेर गाडी चल्न थालेको २२ वर्षपछि यो सडक कालोपत्रे गर्न थालिएको हो।
चितवन राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको वन्यजन्तुको सङ्ख्या वृद्धि भएको छ। मृग, जरायो, लगुना, चित्तल, बँदेललगायतका जनावर वृद्धि भएको हो। आहारा प्रजातिको अवस्था प्रतिवर्ग किलोमिटर ९९ दशमलव ७ प्रतिशत रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। “एक वर्ग किलोमिटरमा एउटा प्रजाति भएको अवस्था छ। यो भनेको धेरै राम्रो सङ्ख्या हो। गत वर्ष ७९ प्रतिशत रहेको थियो भने अहिले वृद्धि भएको छ,” उहाँले भन्नुभयो।
डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो ।
सुडानबाट नेपाल फर्किएका १३ जना नेपाली स्वदेश आइपुगेका छन्। इजिप्टस्थित कायरो दूतावासको सम्पर्कमा ३१ जना आएका थिए। उद्धार भएका १९ मध्ये छ जना रोजगारदाता कम्पनीको दुबई शाखामा स्थानान्तरण भएर काम थालेका छन्। चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपालीलाई पनि चीन सरकारको सहयोगमा उद्धार भएको छ। बाँकी १२ जनामध्ये थप नौ जना भारत सरकारको सहयोगमा पोर्ट सुडानको हवाईमार्ग हुँदै भारतको अहमदावाद उडेका छन्। तीन जनामध्ये एक जना स्वेच्छाले पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमानजिकको स्थानमा सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालले द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध कायम राखेका मुलुकको सङ्ख्या १७९ पुगेको छ। नेपाल र गणतन्त्र नाउरुबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएसँगै द्विपक्षीय सम्बन्ध कायम भएका मुलुकको सङ्ख्या १७९ पुगेको हो। नाउरु भौगोलिक रूपमा विश्वको सबैभन्दा सानो मुलुकमध्येको तेस्रो मुलुक हो।
मिटरब्याज कसुर स्थापित भएमा सात वर्षसम्म कैद हुने भएको छ। मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ। अध्यादेशअनुसार मिटरब्याज कसुर ठहर भएमा कसुरदारलाई सात वर्षसम्म कैद र ७० हजार रुपियाँसम्म जरिवाना हुनेछ।
छाप्न बाँकी रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को सङ्ख्या वृद्धि भइरहेको छ। एक वर्षअघि करिब तीन लाखमा झारिएको छाप्न बाँकी सङ्ख्या हाल आठ लाख ५० हजारप्रति पुगेको छ। यातायात व्यवस्था विभागले दैनिक तीन हजारप्रति लाइसेन्स छाप्छ तर माग भने छ हजारभन्दा बढी छ।
विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ महामारीको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल अन्त्य भएको घोषणा गरेको छ । सङ्गठनले पत्रकार सम्मेलन गर्दै कोभिडको विश्वव्यापी स्वास्थ्य सङ्कटकाल समाप्त भएको घोषणा गरेको हो । सङ्गठनको आपत्कालीन समितिको १५औँ बैठकले जनस्वास्थ्य सङ्कटकाल अन्त्यको घोषणा गर्न सिफारिस गरेको थियो । सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले समितिको उक्त सल्लाहलाई स्वीकार गरेको बताउनुभएको छ । सङ्कटकाल घोषणाको तीन वर्षपछि कोरोना महामारी अन्त्य भएको हो ।
महाकाली नदी तर्ने डुङ्गा भारतीय सुरक्षाकर्मीले बिनाकारण बन्द गरेपछि सीमा क्षेत्रमा आर्थिक तथा सामाजिक कार्यमा समस्या परेको छ । नेपाल र भारतको सीमा छुट्याउने महाकाली नदीको पञ्चेश्वरमा पुल नहुँदा डुङ्गाबाट दुई देशका नागरिक सीमा वारि–पारि गर्दै आएका छन् । कोरोना महामारीका बेला २०७६ साल चैतमा डुङ्गा चल्न बन्द भयो । त्यसयता पञ्चेश्वर गाउँपालिका–४ स्थित हल्दु–विनायक घाटमा भारतीय सीमा सुरक्षा बलले डुङ्गा चल्न दिएको छैन । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले महाकाली नदी तर्ने डुङ्गा बन्द हुँदा धार्मिक पूजाआजा, वैवाहिक कार्य, औषधोपचारलगायतका काममा बाधा परेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले प्रदेश खारेज गर्ने बहस जायज नभएको बताउनुभएको छ।
सुकाढिक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि कर्णाली करिडोरसँग जोडिएको मुगुको खत्याड गाउँपालिका ।