लीलाधर वली
घोराही, मङ्सिर ५ गते । दाङको राजपुर गाउँपालिकामा एकीकृत आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पताल र राजपुर गाउँपालिको साझेदारीमा राजपुर गाउँपालिका–२ को पवित्रनगरमा सो केन्द्रको उद्घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले जनतालाई घर आँगनमै आँखा स्वास्थ्य सेवा प्रदान गर्न साझेदारीमा एकीकृत आँखा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।
उहाँले अब आँखाको आधारभूत स्वास्थ्य सेवा जनताले पालिकामै पाउने भन्दै यसले अन्धोपन न्यूनीकरणका लागि सहयोग पुग्ने बताउनुभयो ।
नेपाल नेत्रज्योति सङ्घ, लमही आँखा अस्पतालसँग विभिन्न समयमा साझेदारी कार्यक्रम सञ्चालन गर्दैआएको भन्दै पालिकामा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घ दाङ शाखाका उपसभापति रेशमबहादुर खड्काले पालिकासँग साझेदारीमा विभिन्न कार्यक्रम गरिरहेको र साझेदारीमा उपचार केन्द्र सञ्चालन गरेको बताउनुभयो ।
सो अवसरमा १ सय ४७ जनाको निःशुल्क आँखा जाँच गरिएको थियो । जसमा ३२ जना मोतियाविन्दुका बिरामीहरू भेटिएका थिए । उहाँहरूलाई गाउँपालिकाको सहयोगमा लमही आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका साथै औषधि र चश्मा समेत उपलब्ध गराइने भएको छ ।