• ३ जेठ २०८३, आइतबार

एमाले वर्तमान चुनौतीप्रति गम्भीर हुन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

blog

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

काठमाडौँ, जेठ ३ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ ।

आइतबार काठमाडौँको बल्खुस्थित मदननगरमा आयोजित ३३ औँ मदन आश्रित स्मृति सभामा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले एमालेले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न पनि आवश्यक रहेको बताउनुभयो ।

उहाँले एमालेमा यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्नका लागि जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्न आवश्यक रहेको पनि बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले एमालेले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउँदै अब जनताको सेवाभावमा बढि केन्द्रित हुनुपर्ने बताउनुभयो । 

जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावका साथ अघि बढे मात्रै राजनीतिक दलको शक्ति बलियो हुने उहाँको भनाइ थियो ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “विगतमा उपलब्धिसँगै वर्तमानका चुनौतीप्रति पनि हामी गम्भीर हुन आवश्यक छ । यदाकदा सिद्धान्त र व्यवहारबिच देखिने असन्तुलनका कारण समाजमा प्रश्न उठ्ने गरेका छन् । जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठुलो शक्ति हो । यदि पार्टी र जनताबिच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ । त्यसैले हामीले जनताको भावना, अपेक्षा र समस्यालाई नजिकबाट बुझ्नुपर्दछ । राजनीति जनसेवा र समाज रूपान्तरणको अभियान हो भन्ने मान्यतालाई स्थापित गर्न अविचलित ढङ्गले हामी क्रियाशील हुनुपर्दछ । आज मदन आश्रितको स्मृतिको अवसरमा हामीले आत्मा सुधार, एकता र जनतासँगको सम्बन्ध सुदृढीकरण तथा राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्ने प्रेरणा लिनुपर्दछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र विकासको काममा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । अब पार्टीले पुन जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्छ। कार्यकर्ता जनताको बिचमा पुग्नुपर्दछ । जनताको दुःखसुखमा सहभागी हुनुपर्दछ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।”

पूर्वराष्ट्रपति भण्डारीले जनताको सुखदुखमा साथ दिन र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा पनि सक्रिय हुन एमाले नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।