रामकृष्ण बोहरा
बागलुङ, जेठ ३ गते । कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरे बापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ ।
बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेको पार्किङ स्थलबाट गुठीले शुल्क उठाउँदै आएको छ । आर्थिक अभावका कारण गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा समस्या नआवस् भन्ने उद्देश्यले गुठी व्यवस्थापन समितिले सवारी पार्किङ शुल्कबापत प्राप्त हुने रकमबाट विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको सुरुवात गरेको हो ।
गुठीले यसअघि पार्किङ शुल्क मानवसेवा आश्रमको भवन निर्माणमा सहयोग गर्दैआएको थियो । बागलुङ नगरपालिका–४, निरयघाटमा निर्माणाधीन मानव सेवा आश्रमको भवन बनाउन महायज्ञबाट पर्याप्त रकम सङ्कलन भएपछि गुठीले गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा साथ दिने उद्देश्यले अक्षयकोष स्थापना गर्ने अभियान सुरु गरिएको हो ।
गुठीले आइतबार बागलुङ नगरपालिका–२ मरेपिपलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा दुई लाख रुपियाँको ‘कालीका भगवती गुठी अक्षयकोष’ स्थापना गरेर अभियान सुरु गरेको छ । ‘‘सुरुमा अक्षयकोष २ लाखको हुने छ, पछि आवश्यकता अनुसार थपिँदै जाने छ’’ गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले भन्नुभयो ।
अध्यक्ष खड्काका अनुसार, पार्किङ शुल्कबाट हुने आम्दानी हरेक ३–३ महिनामा आर्थिक सङ्कटबाट गुज्रिरहेका विद्यालयमा अक्षयकोष स्थापनामा लगाइने छ । ‘‘सानो पुँजीको कोष भए पनि गरिब विद्यार्थीको पठनपाठन ठुलो योगदान पुर्याउन सक्छ’’ बाल मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले भन्नुभयो, ‘‘आवश्यकता हेरेर कोषमा रकम थपिने छ ।’’
एक वर्षमा चार विद्यालयमा अक्षयकोष स्थापना गर्ने गुठीको लक्ष्य छ । विद्यालयका प्रधानाध्यापक उमाकान्त पौडेलले आर्थिक अभावका कारण विद्यालय चलाउन कठिन भइरहेको बेला अक्षयकोषले ठुलो राहत दिएको बताउनुभयो । कार्यविधि बनाएर अक्षयकोषको रकमबाट प्राप्त हुने व्याजबाट हरेक वर्ष विद्यालयको गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने पौडेलले जानकारी दिनुभयो ।
बाल मन्दिरमा अहिले एकसयभन्दा बढी विद्यार्थीले अध्यापन गर्दै आएका छन् । विद्यालयमा अध्ययन गर्ने ९० प्रतिशत बालबालिका गरिब तथा मजदुरी गर्ने समुदायबाट रहेकाले विद्यालय पोशाकदेखि शैक्षिक सामग्री समेत विद्यालयले चन्दा सङ्कलन गरेर विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।