• ३ जेठ २०८३, आइतबार

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसङ्घको आग्रह

blog

मोगादिसु, जेठ ३ गते । निर्वाचन र राजनीतिक सङ्क्रमण सम्बन्धी प्रमुख विवाद समाधान हुन नसकेपछि तीन दिनसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि संयुक्त राष्ट्रसङ्घले सोमालियाका नेतालाई संवाद जारी राख्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सोमालिया सङ्क्रमण सहायता मिसन (युएनटिएमआइएस)ले दुवै पक्षले समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेकोमा स्वागत गर्दै आगामी चरणमा पनि वार्ता जारी राख्नुपर्ने बताएको छ । “सोमालिया सङ्क्रमणकालीन चरणमा प्रवेश गर्दै गर्दा सङ्घीय सरकारलाई सबै सरोकारवालासँग समन्वय गर्दै व्यावहारिक र एकीकृत निर्वाचन मोडेलमा सहमति निर्माण गर्न प्राथमिकता दिन हामी आग्रह गर्छौ,” युएनटिएमआइएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तीन दिनसम्म चलेको वार्ता शुक्रबार समाप्त भएको थियो, जुन राष्ट्रपति हसन शेख मोहामुदको चार वर्षे कार्यकाल औपचारिकरूपमा सकिएको समयसँगै मिलेको हो । मार्चमा सांसदले संविधान संशोधन गर्दै राष्ट्रपति र संसद्‌को कार्यकाल पाँच वर्ष पुर्‍याउने निर्णय अनुमोदन गरेका थिए । तर विपक्षी दल र केही सङ्घीय सदस्य राज्यले यस विस्तारलाई अस्वीकार गरेका छन् ।

युएनटिएमआइएसले कूटनीतिक पहलमार्फत भएको पछिल्लो वार्ता पनि प्रमुख विवाद समाधान नगरी टुङ्गिएकोमा दुःख व्यक्त गरेको छ । मिसनले सोमालियाका नेतालाई देशका गम्भीर चुनौती मानवीय सङ्कट र असुरक्षा लगायत समाधान गर्न एकता बद्ध हुन आग्रह गरेको छ ।

यसले संयमता अपनाउन आह्वान गर्दै अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर राजनीतिक विभाजन अन्त्य गर्ने प्रयासमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ । विश्लेषकका अनुसार वार्ताको मुख्य विषय निर्वाचन प्रणालीमा विवाद थियो । राष्ट्रपति पक्षले प्रत्यक्ष मतदान प्रणालीको पक्ष लिएको छ भने विपक्षी पक्षले परिमार्जित परम्परागत अप्रत्यक्ष मतदान प्रणाली कायम राख्न चाहेको छ । विपक्षी नेता र केही क्षेत्रीय राज्यले यदि अन्तिम सहमति नभएमा मे १५ पछि सरकारको वैधता स्वीकार नगर्ने चेतावनी दिएका छन् । रासस/सिन्ह्वा