ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ५ गते । माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङको विकासका लागि पाँच करोड बराबरको योजना सञ्चालन हुनेभएको छ ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लोमान्थाङको बस्तीलाई व्यवस्थित गर्न पाँच करोड रुपियाँ बराबरको योजना विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय मुस्ताङमार्फत कार्यान्वयन हुनेगरी लोमान्थाङमा स्वागत गेटदेखि लोमान्थाङ वाल वरिपरि सडक निर्माणका लागि दुई वटा शीर्षकमा वहुवर्षीय ठेक्कामार्फत सो योजना कार्यान्वयन गरिने भएको छ ।
लोमान्थाङ गाउँपालिकाको केन्द्र समेत रहेको यस बस्ती पर्यटकीयस्थल समेत हो । प्रदेश सरकारबाट विनियोजन भएको कार्यक्रम कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालयले सुरु गरेको कार्यालयका प्रमुख विवेक सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘लोमान्थाङको विकासका लागि पाँच करोडको योजना प्राप्त भएको छ । योजना कार्यान्वयनका लागि अहिले डीपीआर बनाउन लागेका छौँ । आगामी माघ वा फागुनदेखि योजना कार्यान्वयनमा लैजान कार्यालय जुटेको छ ।’’ डीपीआर बनेपछि बजेट र समय निर्धारण हुने उहाँले बताउनुभयो । दुईदेखि तीन वर्षभित्र योजना सम्पन्न गर्ने कार्यालयको सोच रहेको उहाँले बताउनुभयो ।
लोमान्थाङ गाउँपालिका–५ का अध्यक्ष ढुक्के विष्टले लोमान्थाङ माटोको सहरका रूपमा परिचित भएकाले यसलाई व्यवस्थित बनाउन प्रदेश सरकारले विनियोजन गरेको योजनाले स्थानीयवासीमा खुसी छाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यतिधेरै बजेट ल्याउने हाम्रो पहुँच थिएन । लोमान्थाङको ऐतिहासिकतालाई बुझेर प्रदेश सरकारले यसपालि ठुलो बजेट दिएको छ । यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न हामी एकताबद्ध छौँ ।’’