• १४ मंसिर २०८१, शुक्रबार

‘आपसी सहयोगलाई प्राथमिकतामा राखेर काम गर्छु’

blog

ताप्लेजुङ आउनुभएकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ५ गते । ताप्लेजुङमा दोस्रो पटक महिला प्रमुख जिल्ला अधिकारी भएर आउनुभएकी हिरादेवी पौडेलले आपसी सहयोगलाई पहिलो प्राथमिकतामा राखेर आफूले काम गर्ने बताउनुभएको छ । 

जुनसुकै काममा सफलता प्राप्त गर्न सहयोग आवश्यक पर्ने हुँदा आपसी सहयोगलाई प्राथमिकता दिने उहाँले बताउनुभयो । डेढ साताअघि गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट सरुवा भई पौडेल ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउनुभएको हो । 

प्रजिअ पौडेलले मङ्गलबार स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँगको परिचयात्मक भेटघाटमा सहयोग आदान–प्रदान हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो जिम्मेवारीको दायराभित्र रहेर जिल्लाको शान्ति सुरक्षा कायम गर्नेसँगै अन्य केही रचनात्मक काम गर्ने सोच बनाएको उहाँले बताउनुभयो ।

सोका लागि सञ्चारकर्मीको सहयोग अपरिहार्य हुने उहाँले बताउनुभयो । आफूले बनाएको योजना कार्यान्वयनमा लागिपर्ने र काम भइसकेपछि पत्रकारले प्रचारप्रसार गरेर सहयोग गरी दिनुपर्ने उहाँको भनाइ छ । आफूले गर्ने रचनात्मक तथा सुधारात्मक कार्यका लागि यथार्थ सूचना र पृष्ठपोषण दिएर सहयोग गर्न पनि पत्रकारसमक्ष उहाँले आग्रह गर्नुभयो ।

यता स्थानीय पत्रकारले जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन साथै विकास योजनालगायतका कार्यमा भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । जिल्लामा चोरी डकैती, कालोबजारी, ठगीजस्ता क्रियाकलाप हुने गरेकाले यस्ताखाले अमानवीय तथा आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको नेपाल पत्रकार महासङ्घका जिल्ला शाखा अध्यक्ष आनन्द गौतमले बताउनुभयो ।