• ४ जेठ २०८१, शुक्रबार

स्कुल बसले किचेर विद्यार्थीको मृत्यु, राजमार्ग अवरुद्ध

blog

जनार्जन खत्री

सर्लाही, मङ्सिर ५ गते । नवलपुर–मलङ्गवा सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका –८, जुटपानीमा मङ्गलबार अपरान्ह स्कुल बसले किच्दा एक विद्यार्थीको मृत्यु भएको छ । 

लालबन्दी–१ नवलपुरमा रहेको जेआइसी बोर्डिङ स्कुलको बसले किचेर सोही विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका –८ घर भई लालबन्दी नगरपालिका–२ मा बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो । 

जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएका बालक आदित्यलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिबास लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । 

दुर्घटनामा संलग्न स्कुल बस र बस चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा लिएको छ । घाइते बालकलाई दुर्घटनालगत्तै विद्यालयकै बसमा राखेर बर्दिबास लगिएको थियो । 

प्रत्यक्षदर्शीका अनुसार बालकलाई ओरालेर अगाडि बढ्नेक्रममा बसले बालकलाई किचेको हो । दुर्घटनापछि स्थानीय बासिन्दाले जुटपानीमा नवलपुर–मलङ्गवा सडक अवरुद्ध पारेका छन् । स्थानीयलाई सम्झाइबुझाइ गरी सडक खुलाउने प्रयास भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले जानकारी दिनुभयो ।