गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर ५ गते । नेकपा (एमाले) उपभोक्ता हित संरक्षण तथा सुशासन केन्द्रीय विभागले जाजरकोट, रुकुमपश्चिमका भूकम्पपीडितका लागि पार्टीले सुरु गरेको पुनर्स्थापनाको काममा सक्दो सहयोग गर्ने निर्णय गरेको छ । विभागका प्रमुख तथा नेता जितु गौतमको अध्यक्षतामा बसेको आजको बैठकले सो निर्णय गरेको हो ।
सोहीअनुसार मङ्सिर १४ देखि २९ सम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चुवा भञ्ज्याङसम्म हुने पार्टीको मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रालाई सफल बनाउन पनि विभागको तर्फबाट आवश्यक सहयोग र सहभागिता जनाउने निर्णय गरेको प्रमुख गौतमले बताउनुभयो ।
त्यस्तै, मङ्सिर ७ गते काठमाडौँको तीनकुनेमा आयोजना हुने पार्टीको सभामा विभागको तर्फबाट सक्रिय सहभागिता जनाउने निर्णय पनि गरेको छ । सोहीअनुसार उपभोक्ता हित संरक्षण तथा सुशासन विभागको वार्षिक कार्ययोजना अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्ने विषयमा पनि निर्णय भएको प्रमुख गौतमले बताउनुभयो ।