• ११ मंसिर २०८१, मङ्गलबार

दोलखा सुन प्रकरण

आलु र कोदोको बोरामा काठमाडौँ लगिन्थ्यो सुन

blog

सुन ओसारपसारमा पक्राउ परेका व्यक्तिहरु । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले         

चरीकोट, मंसिर ५ गते । दोलखाबाट सुन तस्करीमा संलग्नहरूले सुनको भुक्तानीसहित ठुलो मात्रामा विदेशी मुद्राको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ । चीनको रोङजिया नाका हुँदै भएको सुन तस्करीमा अन्तर्राष्ट्रिय आपराधिक सङ्गठित सञ्जाल खडा गरेर तस्करी भएको अनुसन्धानका क्रममा खुलेको छ । 

मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय दोलखाले सुन तस्करीमा पक्राउ परेकाहरूले एक वर्षमा अवैध क्रिप्टो करेन्सीमार्फत दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार युसटीडी कारोबार गरेको खुलेको जनाएको हो ।  

हाल प्रतियुनिट क्रिप्टोको मूल्य एक सय ३८ नेपाली रुपियाँ रहेको दोलखाका प्रहरीले जनाएको छ । चीनसँग सिमाना जोडिएको दोलखाको लामाबगर फलाक नाकाबाट अवैध सुन तस्करी गरेको आरोपमा पक्राउ परेका १५ जनालाई प्रहरीले आवश्यक अनुसन्धानपछि मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

दोलखाको लामाबगर नाकाबाट झन्डै एक वर्षको अवधिमा विभिन्न आपराधिक समूह बनाएर ३३ किलो सुनको तस्करी भएको तथ्य खुलेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अनुसन्धानले चीनको रोङजिया नाका हुँदै दोलखाको लामाबगरबाट नेपालतर्फ १० महिनामा ३३ केजी सुन तस्करी भइसकेको मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै, सुन तस्करीमा २ विदेशीसहित २७ जना संलग्न रहेको पनि खुलेको छ ।

तस्करहरूले विशेषगरी बालबालिकाको प्रयोगमार्फत आलु तथा कोदोको पिठोको बोरामा हालेर सार्वजनिक यातायात मार्फत तस्करीको सुन काठमाडौँसम्म लग्नेगरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

तस्करले लामाबगरको फलाक नाकाबाट डोरीले सुनको बोरामा बाँधेर चीनको तिब्बतबाट नेपालतर्फ पठाउने र नेपाल तर्फबाट त्यसैरी बोरामा डलर, यार्सागुम्बा, कस्तुरीको विनालगायत पठाउने गरेको तथ्य समेत अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ । तस्करी समूहका कतिपय एक अर्कोमा परिचित नभएको समेत पाइएको प्रहरीको भनाइ छ ।

अनुसन्धानको क्रममा अहिलेसम्म अवैध सुन तस्करीमा २७ जनाको संलग्नता खुलेकोमा १५ जना पक्राउ परेको र १२ जना फरार रहेको प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताउनुभयो । पक्राउ परेकाबाट १० करोड ६८ लाख ६८ हजार सातसय ६१ रुपियाँ बराबरको ११ केजी (सुनको बिस्केट) र ५३२.०३८ ग्राम (सुनको गहना) सुन र नगद १८ लाख ३३ हजार पाँचसय रुपियाँ समेत बरामद भएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

उनीहरूले २०७९ साल मंसिरदेखि  २०८० साल असोज १० गतेसम्ममा ३१ करोड ११ लाख ७० हजार चारसय ४६ रुपियाँ १५ पैसा बराबरको ३३ केजी सुन अवैध रूपमा तस्करी गरेको खुलेको प्रहरीले जनाएको छ ।

सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ तथा नेपालीले अन्तर्देशीय आपराधिक सङ्गठन सञ्जाल खडा गरी क्रिप्टो करेन्सी (युएसडीटी) तथा विभिन्न डिजिटल वालेटको प्रयोग गरी सुनको भुक्तानी दिने र विदेशी मुद्राको अवैध कारोबार गर्नेगरेको समेत खुलेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताउनुभयो । 

यो अवधिमा उनीहरूले विभिन्न १२ वटा डिजिटल वालेट प्रयोग गरी दुई अर्ब ९१ करोड ४८ लाख ३२ हजार पाँचसय ९३ रुपियाँ सातसय २९ पैसा बराबरको युनिट युएसडिटीको कारोबार गरेको देखिएको पनि सिआइबीका प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।

प्रहरीले अहिलेसम्म तस्करी समूहका चिनिया नागरिक आकर लामा र ग्याङ  तथा नेपालीहरू नुर्बु छिरिङ शेर्पा (काठमाडौँ), पेम्बा तामाङ (दोलखा), चसमान तामाङ (दोलखा), केशर तामाङ (दोलखा), माधवकुमार मगर (दोलखा), सनद प्रधान (गुल्मी), लालबहादुर तामाङ (सिन्धुपाल्चोक), तिलक बिक (बागलुङ), दीपेन्द्रराज शाक्य (ललितपुर), बिगु– १६ (दोलखा), चेतनाथ न्यौपाने (रसुवा), महिमा माझी (रामेछाप) तथा सुनमाला तामाङ (दोलखा) लाई पक्राउ गरेको छ ।

गत असोज १० गते समेत विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले दोलखाको लामाबगर, जामुनेलगायतका स्थानबाट अवैध रूपमा नेपाल भित्रिएको ११ केजी सुन बरामद गरेको थियो ।

त्यसरी अवैध सुन बरामद भएपछि ‘अवैध सुन पैठारी र सङ्गठित अपराध निवारण ऐन २०७०’ अन्तर्गतको कसुर शीर्षकमा मुद्दा दर्तागरी नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी अधिकृतको समेत संलग्नतामा जिल्ला प्रहरी कार्यालय दोलखाले अनुसन्धान सुरु गरेको थियो । फरार रहेका थप १२ जना पक्राउ परेपछि पूरक अभियोगसहित जिल्ला न्यायधिवक्ताको कार्यालय पेस गर्ने प्रहरीले जनाएको छ ।