नेपाल भारत सीमाक्षेत्रस्थित समसीबाट सशस्त्र प्रहरीले स्राेत नखुलेको रुपैयाँसहित ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रले ८ लाख दश हजार नेपाली रुपैयाँसहित समसी गाउँपालिका ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकास्थित सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको उच्चशिक्षा चुनौतीको सँघार पुगेको बताउनुभएको छ । ‘उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरूको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कला संस्कृति सांस्कृतिक एकताको आधार भएको बताउनुभएको छ । दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा आयोजना गरिएको बृहत् भैलो महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले फरक–फरक समुदाय र जातजातिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने चाडपर्व र कला संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
कालिकोट जिल्लाका सबै स्थानीय तह निमित्तकै भरमा सञ्चालन भइरहेका छन् । स्थानीय तह सञ्चालन भएदेखि तिलागुफा नगरपालिकाले एक पटक प्रमुख प्रशासकीय अधिकृत पाएको थियो भने अहिले सम्म अरू स्थानीय तहमा निमित्तले सञ्चालन गदै आएका छन् ।
अदानचुली गाउँपालिकाले जाजरकोट भूकम्पपीडितलाई न्यानो कपडा सहयोग गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री वेदराज सिंहलाई गाउँपालिकाले लत्ताकपडा हस्तान्तरण गरेको छ । गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले दुई लाख मूल्यका लत्ताकपडा प्रदेश सरकारमार्फत भूकम्पपीडितलाई सहयोग गरिएको जानकारी दिनुभयो । तिनमा ५० थान कम्बल, २० थान ज्याकेट र ४० मिटर ओछ्याउने ‘पिफम’ रहेका छन् ।
दाङ जिल्ला माछामा आत्मनिर्भरको बाटोमा अगाडि बढेको छ । जिल्लामा माछापालन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । माछाका लागि अरू जिल्लाको भर पर्ने दाङले अहिले बर्सेनि करिब ६०९ मेट्रिक टन माछा उत्पादन गर्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले जानकारी दिनुभयो । “जिल्लामा उत्पादन बढेसँगै आन्तरिक उत्पादनले बजार धान्ने अवस्था बन्न थालेको छ,” उहाँले भन्नुभयो, “करिब पाँच प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको छ ।” जिल्लामा अहिले करिब १९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । जसमा व्यावसायिक रूपमा ११५ हेक्टरमा र अन्य प्राकृतिक तथा कृत्रिम जलाशयमा माछापालन हुने गरेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।
गत कात्तिक २७ गते घोराही उपमहानगरपालिका–५ निवासी दीपिका रावतको प्रसूति हुने मिति तोकिएको थियो । चिकित्सकको सल्लाह अनुसार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना हुनुभएकी दीपिकाको प्रसूति सामान्य नहुने भयो । चिकित्सकका अनुसार उहाँको शल्यक्रिया गर्नुपर्ने भयो । त्यसका लागि रगत आवश्यक प¥यो । शल्यक्रियाका लागि रगत आवश्यक पर्ने भएपछि श्रीमान् रगत लिन रक्तसञ्चार केन्द्रमा पुग्नुभयो । त्यहाँ उहाँले घोराही उपमहानगरपालिकाले निःशुल्क रगतको व्यवस्था मिलाएको सुन्नुभयो र निःशुल्क रगतका लागि आग्रह गर्नुभयो तर पाउनुभएन । रक्तसञ्चार केन्द्रले निःशुल्क रगत पाउनका लागि वडाको सिफारिस चाहिने बतायो । बिरामीका श्रीमान् विजय रावतले दुई हजार रुपियाँ तिरेर आवश्यक रगत ल्याएको बताउनुहुन्छ ।
मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा १८ जनाको दरबन्दी भए पनि छ जना मात्रै कार्यरत छन् । मुस्ताङको सदरमुकाममा रहेको १५ शय्याको जिल्ला अस्पतालको क्षमता २०७७ सालमा २५ शय्याको बनाइएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारीसमेत नभएको बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल पाँच दशक हुँदासम्म पनि सहज तरिकाले सञ्चालन हुन सकेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सधैँ मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का सांसद डा धवलशम्शेर राणाले संसद्मा प्रतिपक्षको भूमिका सशक्तरूपमा निभाइरहेको तर सत्तापक्षले आफ्नो भूमिका निभाउन नसकेको जिकिर गर्नुभएको छ ।
क्षेत्रफल तथा जनसङ्ख्याको आधारमा चन्द्रपुर नगरपालिका रौतहट जिल्लाकै ठुलो नगरपालिका हो । साबिकका पाँच वटा गाउँ विकास समिति चन्द्रनिगाहपुर, जुडीबेला, पौराई, सन्तपुर (मटिऔन) र डुमरियालाई गाभेर चन्द्रपुर नगरपालिका बनेको हो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको यो नगरपालिकालाई पूर्वमा बागमती नदी, पश्चिममा धन्सार खोला, उत्तरमा मकवानपुरसँग जोडिएको चुरे पर्वत र दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिकाले छोएको छ । कुल
बैतडी जिल्ला सदरमुकाममा एक पटक पानी भर्न चार दिन कुर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । साना सहरी खानेपानीको पाइपमा चुना (क्याल्सियम) जमेर आपूर्ति नभएका कारण यस्तो समस्या आएको बताइएको छ । सदरमुकाममा विगत चार, पाँच दिनदेखि खानेपानी वितरण नियमित हुन सकेको छैन । आठ वर्षअघि १४ करोड रुपियाँको लागतमा निर्माण भएको खानेपानी योजनाका पाइपमा क्याल्सियम जमेर बन्द भएका छन् । सो समस्यासँगै दशरथचन्द न
रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको छ । आठबिसकोट नगरपालिका–१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । शिविरमा सहभागी डा. मणीन्द्र कँडेलका अनुसार आठबिसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाद्वारा आयोजित स्वास्थ्य शिविरमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिस जस्ता स्वास्थ्य समस्या पाइएको थियो ।
झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् ।