लीलाधर वली
घोराही, मङ्सिर ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कला संस्कृति सांस्कृतिक एकताको आधार भएको बताउनुभएको छ । दाङको बङ्गलाचुली गाउँपालिकाको बङ्गलाचुली लेकमा आयोजना गरिएको बृहत् भैलो महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले फरक–फरक समुदाय र जातजातिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने चाडपर्व र कला संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभएको हो ।
मन्त्री शर्माले भन्नुभयो,‘कला संस्कृति हाम्रो सांस्कृतिक एकताका आधार हुन् । फरक समुदाय र जातिका मानिसहरू भए पनि कला संस्कृतिले जोड्ने काम गर्दछन् । सबैलाई सांस्कृतिक एकतामा जोड्ने कला संस्कृतिको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।’ उहाँले पछिल्लो समय आधुनिकताका नाममा विकृति भित्रिने काम गरेको भन्दै स्थानीय सरकारले कला संस्कृति संरक्षणका लागि आयोजना गरेको बृहत् भैलो महोत्सवले तिहारमा रमाइलोसँगै मौलिक कला संस्कृति संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्छ भन्ने पाठ सिकाएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो,‘आधुनिकताका नाममा पछिल्लो समय विकृति देखिन थालेको छ । त्यसलाई रोक्दै आफ्नो मौलिक कला संस्कृति संरक्षणका लागि यस्ता महोत्सवहरूले नयाँ पुस्तालाई पाठ सिकाउनेछन्।’
त्यसैगरी मन्त्री शर्माले दाङ जिल्लाको भौगोलिक विकट क्षेत्रका रूपमा रहेको बङ्गलाचुलीको विकासका लागि विशेष भूमिका खेल्ने बताउनुभएको थियो । बङ्गलाुचीको विकासका लागि दाङ–मुर्कुटी हुँदै प्युठान जोड्ने सडक, घरघर खानेपानी, शिक्षा, विद्युतलगायतका क्षेत्रको विकासका लागि पहल गरिरहेको बताउनुभएको थियो । आफू यस क्षेत्रको जनप्रतिनिधिसमेत रहेको मन्त्री शर्माले भन्नुभयो,‘म यही क्षेत्रको जनप्रतिनिधि हुँ,मेरो निर्वाचन क्षेत्रमध्येमा बङ्गलाचुली विकट क्षेत्र हो । यहाँको विकासका लागि विशेष पहल गरिरहेको छु र आगामी दिनमा पनि थप पहल गर्नेछु ।’
भैलो महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले स्थानीय कला संस्कृति संरक्षणसँगै विकासका लागि नयाँ पुस्ता सचेत हुनुपर्ने बताउनुभयो । आधुनिकताका नाममा पछिल्लो समय आफ्नो मौलिक कला र संस्कृति हराउँदै गएको भन्दै आफ्नो मौलिक कला संस्कृति संरक्षणका लागि हरेक नागरिक सचेत हुनुपर्ने बताउनुभएको थियो ।
स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको बृहत् भैलो महोत्सवमा बङ्गलाचुली गाउँपालिकाका ८ वडा १६ वटा भैलो टिमको सहभागिता थियो । महोत्सवमा उत्कृष्ट हुने भैलो टिमलाई नगद १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।