• ४ पुस २०८१, बिहिबार

अस्पतालमा जनशक्ति अभाव

blog

म्याग्दी समाचारदाता

म्याग्दी, मङ्सिर ८ गते । मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा १८ जनाको दरबन्दी भए पनि छ जना मात्रै कार्यरत छन् । मुस्ताङको सदरमुकाममा रहेको १५ शय्याको जिल्ला अस्पतालको क्षमता २०७७ सालमा २५ शय्याको बनाइएको हो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारीसमेत नभएको बताउनुहुन्छ । २०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पताल पाँच दशक हुँदासम्म पनि सहज तरिकाले सञ्चालन हुन सकेको छैन । नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सधैँ मुस्किल हुने गरेको उहाँको भनाइ छ । 

प्रदेशका मन्त्री तथा नियामक निकायका सबैलाई जानकारी गराइएको भए पनि मागको सुनुवाइ नभएको दुःखेसो उहाँले पोख्नुभयो । नवौँ तहको एक जना मेडिकल सुपरिन्टेन्डेन्ट दरबन्दी रहेको अस्पतालमा उक्त पद रिक्त छ । जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले हाल मेडिकल अधिकृतले निमित्त मेसुका रूपमा काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै जनशक्ति छ तैपनि सक्दो सेवा दिइरहनुभएको छ ।”

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले भन्नुभयो, “जिल्ला समन्वय तथा स्थानीय तहको समेत तदारुकतासहित बैठक बसेर प्रदेशमा डेलिगेसन जाने भन्ने भएको छ  । राज्यले हामीलाई अस्पताल मात्र दिएर भएन जनशक्ति पनि त दिनु प¥यो ।” 

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. तेजस नेपालले एउटा दरबन्दी भएको ल्याब टेक्निसियन र अहेव पनि एउटा रिक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा भन्नुपर्दा दरबन्दीका जम्मा छ जना मात्रै कार्यरत रहेका छौँ ।” 

मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया, भेन्टिलेटर, भिडियो एक्सरे, एक्सरे र ल्याबको सबै स्वास्थ्य पूर्वाधार रहेका छन् तर स्वास्थ्य उपकरण प्रयोग गर्ने स्वास्थ्य चिकित्सक र टेक्निसियन नहुँदा मुस्ताङ अस्पतालमा स्थानीय नागरिकले पाउनुपर्ने सुविधा पाउन सकेका छैनन् । प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङ अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नसक्दा जनताले सास्ती बेहोर्न बाध्य छन् । 

१५ शय्याबाट २५ शय्यामा बढोत्तरी गरिएको मुस्ताङ अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । भदौ महिनादेखि अस्पतालको शल्यक्रिया, युएसजी (भिडियो एक्सरे) सुविधा बन्द भएको छ । शल्यक्रिया सेवासुविधा दिन थालिएको अस्पतालमा एमडिजिपी चिकित्सक नहुँदा सेवा पाउन नसकेको स्थानीयको भनाइ छ । 

अस्पतालबाट एमडिजिपी चिकित्सक डा. कुन्दन कर्ण र मुखिया घलेको सरुवा भएपछि नयाँ एमडिजिपी चिकित्सक आएका छैनन् । अस्पतालका निमित्त मेसु तेजेश नेपालले पटक पटक प्रदेश सरकार र सरोकारवालालार्ई लिखित र मौखिक ध्यानार्कषण गराए पनि चिकित्सक आउन नसकेको बताउनुभयो ।