मुसीकोट समाचारदाता
रुकुमपश्चिम, मङ्सिर ८ गते । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाका बालबालिका र ज्येष्ठ नागरिकमा स्वास्थ्य समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रका बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी देखिएको छ ।
आठबिसकोट नगरपालिका–१०, ११, १३ र १४ मा सञ्चालित घुम्ती स्वास्थ्य शिविरमा यस्तो समस्या देखिएको हो । शिविरमा सहभागी डा. मणीन्द्र कँडेलका अनुसार आठबिसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवाद्वारा आयोजित स्वास्थ्य शिविरमा दम, निमोनिया, रुघाखोकी, ज्वरो, झाडापखाला, एलर्जी, ग्यास्ट्राइटिस जस्ता स्वास्थ्य समस्या पाइएको थियो ।
चिसो मौसम, आवश्यक खानपानको अभाव, तनाव र दौडधुपले गर्दा भूकम्प प्रभावितको स्वास्थ्य समस्या बढिरहेको पाइएको छ । डा. कँडेलका अनुसार दुई दिनको घुम्ती स्वास्थ्य शिविरमा चार सयभन्दा बढी बिरामीको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । स्वास्थ्य जाँचका लागि बालबालिका र ज्येष्ठ नागरिक बढी आएका थिए । बालबालिकामा निमोनिया र ज्येष्ठ नागरिकमा दमको समस्या बढी पाइएको छ ।
शिविरबाट मस्तिष्कघात, पक्षाघात, अटिजम, बौद्धिक अपाङ्गता भएका नौ जनाले पनि सेवा लिएका थिए । आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले भूकम्प प्रभावित क्षेत्रका नागरिकमा स्वास्थ्य समस्या बढिरहेको सूचनापश्चात् स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । चिसो मौसम, घरबाहिरको बसाइ, पोषणयुक्त खानेकुराको अभावमा भूकम्प प्रभावितमा स्वास्थ्य समस्या देखिन थालेको र त्यसलाई नियन्त्रण गर्न विभिन्न निकायसँग समन्वय गरी स्वास्थ्य जाँच तथा शिविर सञ्चालन गरिरहेको नगर प्रमुख केसीले बताउनुभयो ।
प्रतिकार्य कार्ययोजना तयार
भूकम्प प्रभावित स्थानमा स्वास्थ्य समस्या बढ्न नदिन जिल्ला विपत् व्यवस्थापन समितिले भूकम्पसम्बन्धी विपत् व्यवस्थापन प्रतिकार्य कार्ययोजना तयार गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद पन्तका अनुसार स्वास्थ्य सेवा कार्यालयको अगुवाइमा बनाइएको उक्त कार्ययोजना अनुसार एकीकृत रूपमा स्वास्थ्य सञ्चालन, सचेतनालगायतका कामलाई प्राथमिकता दिइएको छ । मङ्सिर तेस्रो साताबाट आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिने जनाइएको छ । भूकम्प प्रभावित स्थानमा नियमित रूपमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने, क्षयरोगका बिरामीको स्व्रिmनिङ गर्ने, खोप छुट भएका र नलगाएका बालबालिकालाई खोप लगाउने, पोषण, मातृ स्वास्थ्य सेवा तथा विपत्का विषयमा महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिने कार्ययोजना रहेको छ ।
स्थानीय सञ्चारमाध्यममार्फत स्वास्थ्य सचेतना सन्देश प्रसारण गर्ने, द्रुत उद्धार तथा उपचार टोली परिचालन गर्ने, सम्भावित महामारीमा प्रयोग हुने औषधीलगायत उपचार सामग्रीको व्यवस्थापन र अति आवश्यक औषधीको व्यवस्थापनका लागि बफर स्टक राख्ने योजना बनाइएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।