चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड ४१ लाख ७० हजार रुपियाँको खाद्यान्न आयात भएको हो । अघिल्लो वर्ष सो अवधिमा ११ अर्ब ८३ करोड ७९ लाख १९ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा खाद्यान्न आयात बढेको छ । गत वर्ष सरकारले आयातमा कडाइ गरेका कारणले खाद्यान्नको आयातमा गिरावट आएको थियो । चालु आवको चार महिनामा तीन अर्ब १५ करोड १७ लाख ८९ हजार रुपियाँको ८३ लाख २५७ केजी चामल आयात भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जानुहुने भएको छ । आगामी मङ्सिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा सम्मेलन हुँदै छ । प्रधानमन्त्री प्रचण्डले मङ्सिर १३ गतेदेखि १७ गतेसम्म कोपमा सहभागिता जनाउने प्रधानमन्त्रीका विकास व्यवस्थापन तथा वातावरणविज्ञ डा. पपुलर जेन्टल भुसालले बताउनुभयो । प्रधानमन्त्रीले आवश्यक व्यक्तिलाई मात्र समेटेर भ्रमण टोली बनाउन निर्देशन दिएकाले सुरक्षाकर्मीबाहेक अन्य १० जनाजति हुने उहाँले बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको अभियान, २०८० को शुभकामना सन्देश दिँदै उहाँले सो आवश्यकता औँल्याउनुभएको हो ।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । न्यायपरिषद्को पत्राचार अनुसार समितिको शुक्रबारको प्रारम्भिक बैठकले उजुरी आह्वानको निर्णय गरेको हो । १० दिनको समय दिएर उजुरी आह्वानको प्रक्रिया अघि बढाउने निर्णय समितिले गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताउनुभयो ।
विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको छ । अङ्कका आधारमा नेपालले १५ अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष नेपालको अवस्था ८१ औँ नम्बरमा रहेको थियो । सार्क राष्ट्रमा भने नेपाल दोस्रो स्थानमा छ ।
बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ ।
पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–५, कर्नेडाँडा बस्ने ४० वर्षीय चन्द्रबहादुर काम्मु रहनुभएको छ ।
हमासले नियन्त्रणमा लिएका १३ जना इजरायली बन्धक रेडक्रसलाई हस्तान्तरण गरेको छ । यसैगरी,१२ जना थाइ बन्धकहरू पनि गाजाबाट रिहा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताउनुभएको छ ।
आन्तरिक राजस्व कार्यालयले मनिप्लान्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ०७८–७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सम्मान गरेको छ।
कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको यशोधरा गाउपालिका ३ मा ट्याक्टरको ठक्करबाट स्थानीय २ वर्षीय बालकको मृत्यु भएको हो।
पाँचथरको हिलिहाङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा चार दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ६७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
चुनावताका कैलालीको गौरीगङ्गा नगरपालिका–१० भैंसासुरस्थित लिक्मा (सुर्मा) नदीमा पक्की पुल बन्ने कुरा जोडतोडका साथ उठ्ने गर्छ। नेताहरुले नदीमा पुल बन्ने कुरालाई चुनावी मुद्दा नै बनाउने गर्छन्।
नेपालका लागि जापानी राजदूत किकुता युकाताले इलामको सूर्योदय –७ गोगनेमा निर्माण भएको वर्थिङ सेन्टर आज उद्घाटन गर्नुभएको छ ।
काठमाडौँ, मङ्सिर ८ गते । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किएको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताउनुभयो । रासस