काठमाडौँ, मङ्सिर ९ गते । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । न्यायपरिषद्को पत्राचार अनुसार समितिको शुक्रबारको प्रारम्भिक बैठकले उजुरी आह्वानको निर्णय गरेको हो । १० दिनको समय दिएर उजुरी आह्वानको प्रक्रिया अघि बढाउने निर्णय समितिले गरेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताउनुभयो ।
समितिले सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालविरुद्ध उजुरी माग गरेको हो । पोखरेल र ढकालबाहेक सिफारिसमा पर्नुभएका चार जना उच्च अदालतका न्यायाधीश हुनुहुन्छ । समितिले दिएको समयसीमामा सर्वसाधारण र सरोकारवालाले उजुरी पठाउन सक्ने छन् । समितिको सचिवालय, इमेल, जिल्ला प्रशासन कार्यालयसमेतबाट सरोकारवालाले उजुरी पठाउन सक्ने छन् । उजुरीकर्ताले खुला र गोप्य दुवै रूपमा उजुरी गर्न सक्ने छन् ।