राधा लुइटेल
फिदिम, मंसिर ८ गते। पाँचथरको हिलिहाङ गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा चार दिनसम्म सञ्चालन भएको आँखा शिविरमा ६७ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
मोतियाबिन्दु भएका, आँखामा ऐजेरु पलाएकासहित विभिन्न समस्या भएका ६७ जनाको सफल शल्यक्रिया गरिएको हो।
शिविरमा विभिन्न समस्या लिएर आएका ९ सय ७ जना बिरामीका आँखा जाँचपछि औषधि र चश्मा वितरण गरिएको हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो।
शिविरमा मेची आँखा अस्पताल विर्तामोडका चिकित्सकले आँखा जाँच, शल्यक्रिया र उपचार गर्र्नुभएको थियो। हिलिहाङ गाउँपालिकाको आयोजना र मेची आँखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा सञ्चालित शिविर व्यवस्थापनमा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार, नेपाल रेडक्रस सोसाइटी र शेर्पा संघ हिलिहाङ लगायतले सहयोग गरेका थिए।
आँखा जाँच र शल्यक्रिया गरिएका बिरामीलाई निःशुल्क औषधि र चश्मा पनि वितरण गरिएको मेची आँखा अस्पतालले जनाएको छ।