• १२ मंसिर २०८१, बुधबार

राजदूतद्वारा वर्थिङ सेन्टर उद्घाटन

blog

सूर्योदय –७ को गोगनेमा स्थापना गरिएको वर्थिङ अस्पताल उद्घाटन गर्न आइपुग्नु भएका जापानी राजदूत किकुता युकाता । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मंसिर ८ गते । नेपालका लागि जापानी राजदूत किकुता युकाताले इलामको सूर्योदय –७ गोगनेमा निर्माण भएको वर्थिङ सेन्टर आज उद्घाटन गर्नुभएको छ । 

वर्थिङ सेन्टर उद्घाटन गर्दै राजदूत युकाताले दुर्गमका महिला र बालबालिकालाई यो अस्पतालबाट सुविधा पुग्ने विश्वास लिएको बताउनुभयो । विभिन्न उपकरण, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीसहितको सेवा सुविधा रहेको सेन्टरमा अन्य आवश्यक सामग्रीहरु समेत दूतावासले सहयोग गर्ने राजदूत यूकाताले प्रतिवद्धता जनाउनुभयो । 

जापानी दूताबासको सहयोगमा करिब एक करोड रुपियाँको लागतमा निर्माण भएको अस्पतालमा दुर्गम क्षेत्र मानिने वडा –७ का गर्भवती महिलालाई स्वास्थ्य सुविधा पुग्ने सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राईले बताउनुभयो । 

नगरका सबै नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउने लक्ष्यका साथ यो क्षेत्रमा वर्थिङ सेन्टर स्थापना गरिएको राईले बताउनुभयो । यो सेन्टरलाई भविष्यमा अस्पतालकै रुपमा अगाडि बढाउने लक्ष्य रहेको नगर प्रमुख राईले बताउनुभयो । सेन्टरबाट गर्भवती महिला र बालबालिकाका लागि पोषण कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।