श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ । श्रममन्त्री शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । साथै बैठकले स्वदेशमै पर्याप्त रोजगारीका अवसर सिर्जना गर्ने गरी आर्थिक क्रियाकलापको विस्तार गर्ने एवं आन्तरिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यसहित सरकार, रोजगारदाता ट्रेड युनियन तथा सरोकारवाला सबैको सहभागितामा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि श्रम मन्त्रालयबाट आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्ष २०२४/२५ का लागि ७६२ खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्वजनिक गरेको छ । भारतका वित्तमन्त्री निर्मला सितारमणले बिहीबार लोक सभामा लगातार छैटौँ पटकको बजेट प्रस्तुत गर्ने इतिहास बनाउँदै ‘विकसित भारत’ को लक्ष्यसहितको बजेट प्रस्तुत गर्नुभएको हो ।
भारतीय सीमा क्षेत्रमा नक्कली नेपाली नोटको कारोवार हुने गरेको पाइएको छ । कारोबारमा नक्कली नोट प्रयोग गर्ने र सीमा क्षेत्रको बाटो हुँदै अन्यत्र समेत नोटको ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित धिमाल भाषा
चलचित्र ‘उपहार’ को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक भएको छ । गीतमा रविन भुसालको आवाज, अर्जुन पोखरेलको सङ्गीत तथा प्रमोद ढुङ्गानाको शब्द छ ।
चलचित्र रङ्गेलीको गीत ‘हातैले उघाएर’ को अडियोमा नृत्य गर्दा स्मार्टफोन उपहार पाइने भएको छ । सो भिडियो आफ्नो फेसबुक वा इन्स्टाग्रामको प्रोफाइलमा पोस्ट गरी उत्कृष्ट फिचरसहितको युमिडिजी स्मार्टफोन प्राप्त गर्न सकिने चलचित्रका कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताउनुभयो । प्रतिस्पर्धामा सहभागीमध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने भिडियो बनाउने दुई जनाले सो स्मार्टफोन जित्ने छन् । भिडियो यही माघ २७ सम्ममा पोस्ट गरिसक्नुपर्ने छ ।
शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शङ्करको लेखन तथा निर्देशनमा तयार भएको हो । नाटकमा सहिद गङ्गालाललाई क्रान्तिकारी मात्र नभई एक पूर्ण मानिसका रूपमा प्रस्तुत गरिएको निर्देशक चे शङ्करले बताउनुभयो । विक्रम संवत् १९९१ देखि १९९७ सम्म नेपाली राजनीतिक परिवेशमा घटेका घटनाक्रम र सहिद गङ्गालालका जीवनका घटनालाई आधार मानी नाटकको कल्पना गरिएको उहाँले बताउनुभयो । नाटक गङ्गालालमा सहिद धर्मभक्त, शुक्रराज, दशरथका साथै तत्कालीन नेताहरू टङ्कप्रसाद आचार्य, गणेशमान सिंह र कवि सिद्धिचरण श्रेष्ठसमेत पात्र बनेर मञ्चमा देखिने छन् । विद्यार्थी, शिक्षक, राजनीतिज्ञ, लेखक र कलाकारले गङ्गालाललाई फरक पाटोबाट चिन्नु र हेर्नुपर्ने लेखक निर्देशक चेले बताउनुभयो । सहिद दिवसको सन्दर्भमा प्रदर्शन गरिएको यो नाटक बुधबार नाचघरमा प्रथम मञ्चन गरिएको थियो ।
मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ । १० प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो । निर्णायकमण्डलबाट तपाईंलाई यो संसारमा सबैभन्दा बढी के कुराको कमी छ जस्तो लाग्छ भन्ने प्रश्नमा श्रेष्ठले यो संसारमा सबैभन्दा बढी सहानुभूतिको कमी रहेको जवाफ दिनुभएको थियो । सोही जवाफले उहाँले उपाधिको हकदार बनायो । उहाँले करुणा प्रायः पछाडि परेको संसारमा सहानुभूतिको एकदमै आवश्यक रहेको बताउँदै सहानुभूतिलाई संस्कार, संस्कृतिका रूपमा अँगाल्नसमेत सबैलाई आग्रह गर्नुभयो ।
विषयगत राय सुझावका लागि अन्तरमन्त्रालयमा पठाइएका फाइल १५ दिनभित्र जवाफ नपठाए स्वतः सदर हुने भएको छ । मन्त्रालय तथा निकायबाट राय माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्ने छ । १५ दिनभित्र पनि राय नदिए त्यो विषयमा स्वतः सहमति दिएको मानिने व्यवस्था भएको हो ।
यातायात क्षेत्रमा कार्यरत मजदुर दुर्व्यवहारमा पर्ने गरेको सरोकारवालाले बताएका छन् । ट्राफिक प्रहरीलगायत विभिन्न नियामक निकायका साथै यात्रुले समेत यस क्षेत्रमा कार्यरत मजदुरलाई दुर्व्यवहार गर्ने गरेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार ललितपुरमा आयोजित ‘सेवाग्राहीको अधिकार संरक्षणमा सेवाप्रदायकको भूमिका’ विषयक अन्तर्क्रियामा अखिल नेपाल यातायात मजदुर युनियनका अध्यक्ष दीपक केसीले ट्राफिक प्रहरी र प्रहरीबाट चालक र सहचालकलाई ‘तँ’ भनी सम्बोधन गर्ने गरिएको, सामान्य घटनामा पनि हत्कडी लगाएर दुव्र्यवहार गरिएको, यात्रुलाई सामान्य चोटपटक लागेको अवस्थामा समेत चालक र सहचालकलाई अङ्गभङ्गको मुद्दा लगाउने गरिएको बताउनुभयो । “दुर्व्यवहार र मानव अधिकार हननका कारण चालक र सहचालकले सम्मानपूर्वक जीवन बाँच्न पाएका छैनन् ।
प्राचीन शाक्य गणराज्यको राजधानी सहर कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्ताबेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवं युनेस्कोका लागि नेपालका स्थायी प्रतिनिधि सुधीर भट्टराईले युनेस्को वल्र्ड हेरिटेज केन्द्रका निर्देशक महामहिम लाजारे इलोन्डोलाई बुधबार औपचारिक रूपमा मनोनयन दस्ताबेज गर्नुभएको हो ।
कैलालीमा यस वर्ष अहिलेसम्म आठ जना थारु महिला गाउँको भलमन्सा (बरघर) बन्न सफल हुनुभएको छ । गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो ।
मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गर्नुभएको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ र प्रदेशका जनप्रतिनिधिको सम्मानलाई ध्यान दिएर पालिकामार्फत हुने विभिन्न विकासका गतिविधिमा जोड्ने विकल्प खोजिरहेको बताउनुभएको छ ।
नेपालगन्ज र सो वरिपरिका शृङ्गारमा रुचि राख्ने महिला तथा युवतिहरुका लागि स्थानीय बागेश्वरी मन्दिरको मिनी मार्केटमा व्युटी एण्ड मेकअप ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।