नेपाल विद्युत् प्राधिकरणको ट्रङ्क लाइन बक्यौता विवादका कारण रुपन्देहीका उद्योगी थप त्रसित भएका छन् । अदालतमा विचाराधीन मुद्दाका विषयमा पनि प्राधिकरणले सूचना निकालेपछि आफूहरू थप तनावमा परेको उनीहरूको गुनासो छ । बुटवल–भैरहवा औद्योगिक कोरिडोरका उद्योगीहरूलाई नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क लाइन बिलिङबापतको रकम तिर्न ताकिता गरेपछि उद्योगीहरू पुनः त्रसित बनेका हुन् ।
काठमाडौँ महानगरपालिकाले दसैँमा बिक्री गरिने खसी बोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्ने भएको छ । आगामी असोज २४ देखि दसैँसम्म चौपायाको स्वास्थ्य परीक्षण गरिने काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले जनाएको छ । विभागका प्रमुख डा. अवधेश झाले चाडपर्वमा उपभोक्तालाई स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यसहित महानगरपालिकाले खसीबोकालगायत पशुको स्वास्थ्य परीक्षण गर्न लागेको जानकारी दिनुभयो । विगतमा दसैँमा विभिन्न रोगले ग्रस्त पशुको मासु बिक्री गरेको पाइएकाले यो वर्ष पशुको स्वास्थ्य परीक्षण गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार खसीबोकालगायतको चौपाया बिक्री गरिने मुख्य बजारका रूपमा रहेको कलङ्की, प्रदर्शनीमार्गस्थित टुकुचा खोला किनार, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण गरिने छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिनुभएको छ । डेरी उद्योगीले दुध किसानलाई भुक्तानी गर्न करिब छ अर्ब रुपियाँ बाँकी छ । ती सबै रकम दसैँअघि नै भुक्तानी गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री भुसालले दुध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाउने बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
वरिष्ठ पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा भक्तपुरमा दुई स्रष्टालाई सम्मान गरिएको छ । नेपाली साहित्यिक पत्रकारिताको उन्नयनमा समर्पित रही रहँदै आउनुभएका रचना साहित्यिक पत्रकारिताका प्रधान सम्पादक रोचक घिमिरेलाई २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार अर्पण गरिएको हो । पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।
पूर्वसचिव धनबहादुर तामाङ पाख्रिनले तामाङ भाषामा अनुवाद गर्नुभएको ‘धम्मपद’ को लोकार्पण गरिएको छ । जेचुन साङ्गे खाण्डो रिम्पोछे (जुनामाया थिङ) लगायतले नेपाल तामाङ पत्रकार सङ्घद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
दसैँमा नै चलचित्र प्रदर्शन गर्न निर्माता निर्देशकहरूबिच होडबाजी चल्ने गरेको छ । चलचित्रले बजार लिए पनि नलिए पनि प्रायः सबै निर्माता निर्देशक दसैँलाई लक्षित गरेर आफ्नो चलचित्र प्रदर्शन गर्ने तयारीमा रहेका छन् । अन्य समयको तुलनामा चाडपर्वका बेला चलचित्र धेरै चल्ने चलचित्रकर्मीहरूको बुझाइ छ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टी नेतृत्व छाड्न खोजे पनि जिम्मेवारी लिन कोही तयार नभएको बताउनुभएको छ । माओवादी केन्द्रका सचिव राम कार्कीद्वारा लिखित पुस्तक ‘विकल्प’ को शनिबार लोकार्पण गर्दै उहाँले भन्नुभयो, “मैले नेतृत्व लिएको ३५ वर्ष पुग्यो । अब छोड्छुभन्दा पनि सुख छैन । तपाईंहरूले प्रचण्डले छोड्नु पर्छ र फलानो आउनु पर्छ भन्नुभयो भने म सबैभन्दा बढी खुसी हुने थिएँ तर परिस्थिति त्यस्तो भइरहेको छैन ।”
कुनै बेला गाउँमै कसैले पैसा सापटी माग्यो भने मुन्टो बटारेर भाग्ने गर्थे, आज उहाँ ती दिन सम्झँदा आँखाबाट आँसु झार्नुहुन्छ । दुःखमा साथ दिन कोही तयार नभए पनि उहाँ आज सबैको प्रेरणा बनेर समाजको उदाहरणीय बन्न सफल हुनुभएको छ । उहाँको सफलतामा साथ दिएको छ, कृषि विकास बैङ्क र आफ्नै गाउँको महिला लघुउद्यमी संस्थाले ।
वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण गर्न सरकारले यस्तो अपराधमा संलग्नलाई दुई वर्षसम्म सजाय गर्न सक्ने गरी कानुन बनाउन लागेको छ । यसका लागि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्ने विधेयक संसद्मा दर्ता गरिएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भूभागबाट यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार सो क्षेत्रबाट मनसुन बाहिरिएको र बाँकी भूभागबाट पनि केही दिनमा बाहिरिने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार मनसुनी प्रणालीको असर लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा अझै केही दिन रहने देखिन्छ । नेपालमा गत जेठ ३१ गते मनसुन भित्रिएको थियो तर करिब एक सातापछि मात्रै देशभरि फैलिएको थियो । गत सोमबार असोज १५ गते नै मनसुन बाहिरिने अनुमान गरिएकोमा यस वर्ष केही ढिला गरी मनसुन बाहिरिन लागेको हो ।
नेपाल–बेलायतबिच मैत्री सन्धि भएको शतवार्षिकीको अवसरमा स्कटल्यान्डको एडिनबरास्थित रोयल बोटानिक गार्डेनमा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । बेलायतस्थित नेपाली राजदूतावास र बेलायतको परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना तथा रोयल बोटानिक गार्डेन र ब्रिटिस काउन्सिलको सहकार्यमा सम्पन्न कार्यक्रममा गत एक सय वर्षमा जलवायु परिवर्तनबाट नेपालको जैविक विविधता, भूगोल, अर्थतन्त्र र जनजीवनमा परेको प्रभाव र यसलाई न्यूनीकरण गर्न अपनाइएको प्रयासहरू र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामाथि छलफल भएको थियो ।
इजरायलमा आइतबार भएको आक्रमणमा नौ जना नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार १४ जना नेपाली कामदार भएको एउटा फार्ममा आक्रमणमा परी घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । समाचार एजेन्सीहरूका अनुसार प्यालेस्टाइनको लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमण र त्यसको प्रतिशोधमा इजरायलबाट भएको जवाफी आक्रमणमा परी दुवैतर्फका गरी करिब तीन सय जनाको मृत्यु भएको छ । झन्डै एक हजार घाइते भएको अनुमान गरिएको छ । नेपाल सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको घोर भर्त्सना गरेको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस महत्वपूर्ण घडीमा, नेपालले इजरायल सरकारसँग ऐक्यबद्धता व्यक्त गरेको छ ।
हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल आइपुगेका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्। बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २:३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्।