• २६ वैशाख २०८२, शुक्रबार

‘पार्टी नेतृत्व छोड्छुभन्दा सुख छैन’

blog

काठमाडौँ, असोज २१ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले पार्टी नेतृत्व छाड्न खोजे पनि जिम्मेवारी लिन कोही तयार नभएको बताउनुभएको छ । 

माओवादी केन्द्रका सचिव राम कार्कीद्वारा लिखित पुस्तक ‘विकल्प’ को शनिबार लोकार्पण गर्दै उहाँले भन्नुभयो, “मैले नेतृत्व लिएको ३५ वर्ष पुग्यो । अब छोड्छुभन्दा पनि सुख छैन । तपाईंहरूले प्रचण्डले छोड्नु पर्छ र फलानो आउनु पर्छ भन्नुभयो भने म सबैभन्दा बढी खुसी हुने थिएँ तर परिस्थिति त्यस्तो भइरहेको छैन ।”

कतिपयले सरकारले गरेका राम्रा कामलाई देख्न छाडेको गुनासो उहाँले गर्नुभयो । उहाँले सबै कामलाई नराम्रो मात्र देख्ने प्रवृत्ति हाबी हुनु गलत भएको टिप्पणी गर्नुभयो । “सरकार वा पार्टीले गरेका राम्रा काम नदेख्ने प्रवृत्ति हाम्रो समस्या हो कि नेतृत्वको समस्या हो ?” उहाँले भन्नुभयो, “हामीले नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? यस्तो हुनु हाम्रो सोचको समस्या हो वा नेतृत्वको हो ? नेतृत्व भनेको जनता, इतिहास र आन्दोलनले जन्माउने कुरा हो । यत्तिकै पैदा हुने कुरा होइन ।” 

उहाँले जनयुद्धको नेतृत्व र त्याग गर्नेलाई एकोहोरो सरापिएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले कतिपयले ‘जनयुद्ध गर्नु हिंसा र अपराध थियो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गल्ती थियो, यसलाई उल्ट्याउनु पर्छ’ भन्ने गरेको चर्चा गर्दै यो राजनीतिक परिवर्तनलाई विद्रुपीकरण गर्ने, बदनाम गर्ने, कुनै न कुनै तरिकाले प्रभावलाई कमजोर पार्ने खेल भइरहेको बताउनुभयो ।

उहाँले यो परिवर्तनको पक्षमा अन्तिमसम्म लड्नु पर्छ र यसलाई संस्थागत गरेर परिवर्तन पक्षधरले श्रेष्ठता हासिल गरेर देखाउनै पर्छ भन्दै त्यस्तो नभए प्रतिगमन हुने खतरा रहने बताउनुभयो । 

प्रचण्डले अहिले देशमा जे जस्ता सङ्कट देखापरेका छन्, त्यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको औँल्याउनुभयो । “माक्र्सवाद सामाजिक क्रान्तिको विज्ञान हो । तसर्थ यो निरन्तर परिवर्तनशील छ । माक्र्सवादले हामीलाई कुनै सूत्र दिएको छैन, जसले 

आफैँ क्रान्ति गरोस्, बरु यसले क्रान्तिकारी परिवर्तनका निम्ति महत्वपूर्ण दिशाबोध गरेको छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म कुन कम्युनिस्ट नेता सफल भएको होला ? कहिलेकाहीँ बुद्धिजीवीका उपदेश सुनेर वाक्कै लाग्छ । यस्ता उपदेशको कामै छैन । गर्नु केही छैन, खाली उपदेश मात्रै दिने काम भयो ।”

उहाँले पार्टीमा विद्रोह गर्नेले विकल्पसमेत दिन सक्नुपर्ने बताउनुभयो । “हामीले क्रान्तिका बेला भन्यौँ विद्रोह गर्नु जनताको अधिकार हो । पार्टीभित्र पनि विद्रोह गर्ने अधिकार छ । शान्ति प्रक्रियामा आएपछि धेरै साथीले विद्रोह पनि गर्नुभयो,” उहाँले भन्नुभयो, “तर विकल्प दिन सक्नुभएन । त्यो विकल्प हामी नै रह्यौँ । यसलाई गम्भीरतापूर्वक हेर्नु पर्छ ।”

प्रधानमन्त्री प्रचण्डले पुस्तकका लेखक एवं नेता कार्कीले पार्टीमा आलोचनात्मक दृष्टिकोण राख्दै विश्व कम्युनिस्ट, मजदुर एवं वामपन्थी आन्दोलनको केस्राकेस्रा केलाउने गरेको बताउनुभयो । उहाँले पुस्तकमा २० औँ शताब्दीको समाजवादबारे गम्भीर समीक्षासहित कम्युनिस्ट एवं वामपन्थी पार्टीहरूबिच चलेका बहस, अन्तरसङ्घर्ष, भयानक प्रतिक्रान्ति र त्यसका शिक्षाबारे अध्ययन र विश्लेषण गरिएको उल्लेख गर्नुभयो । 

पार्टी सचिव एवं लेखक राम कार्कीले कम्युनिस्ट पार्टी र आन्दोलनमा विकल्प खोज्ने बेला आएको उल्लेख गर्नुभयो । माक्र्सले आफूलाई माक्र्सवादी उल्लेख नगरेको बताउँदै उहाँले आफूलाई रूपान्तरण गर्नु मुख्य प्रश्न भएको धारणा व्यक्त गर्नुभयो ।

नियन्त्रण, निगरानी र हस्तक्षेप आवश्यक

यसै गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताउनुभएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार : अपेक्षा र अवस्था’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कविताजीको यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्वपूर्ण कृतिका लागि लेखकलाई बधाई व्यक्त गर्दछु ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी र राष्ट्रिय कार्यभार रहेको बताउँदै उहाँले अहिले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा रहेको स्पष्ट पार्नुभयो ।