म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी वर्षको लागि ५३ करोड बढीको बजेट सार्वजनिक गरेको छ ।
भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पाँच लाख ५० हजार रुपियाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
जिल्लाको खिजीदेम्बा गाउँपालिकाको कृषि उत्पादन बजारीकरण गरिने भएको छ । गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनहरु बजारीकरण गरिने भएको हो ।
सुनकोसी नदीस्थित उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको पिलर भत्काउनुपर्ने भएको छ । निर्माणाधीन पुलको खोटाङपट्टिको पिलर बाङ्गिएपछि स्थलगत अध्ययन अवलोकन गर्न खोटाङबाट निर्वाचित जनप्रतिनिधिसहित आइतबार धाप्लाङ पुगेको पुल सेक्टर कार्यालय धरानका इन्जिनियरसहितको टोलीले उक्त पिलर भत्काउनुपर्ने ठहर गरेको हो ।
कालीकोटको स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल अहिले प्रमुखविहीन छ । प्रमुख नहुँदा दैनिक रूपमा दिइने सेवा प्रभावित बनेको छ । भएका कर्मचारीलाई जिम्मेवारी नदिँदा दैनिक कामकाजमा समस्या भएको हो ।
बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।
रुपन्देहीको कोटहीमाइ गाउँपालिकाले बहुउद्देशीय सडक निर्माण गरेको छ । लुम्बिनी प्रदेश सरकारको साझेदारीमा रु २५ लाखको लागतमा नालासहितको चार किमी सडक निर्माण गरेको हो ।
खोटाङको रावा बेसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ । आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने बताउनुभएको हो ।
गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा फोटो प्रदर्शनी आयोजना हुने भएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको संयोजनमा यही असार १८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘क्रान्तिदेखि शान्तिसम्म, ऐतिहासिक फोटो प्रदर्शनी’ आयोेजना हुने बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा घोषणा गरेको महत्वपूर्ण नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सकेको छैन । प्रदेश राजधानी निर्माणको कार्य अगाडि बढाउने, मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन, प्रादेशिक गौरव आयोजनाको सम्भाव्यता अध्ययन, लगानी सम्मेलनलगायतका नीति तथा कार्यक्रममा समावेश कार्यक्रम कार्यान्वयन गर्न सकेन । प्रदेश सरकारले नीति तथा कार्यक्रममा समावेश गरेका कार्यक्रम कार्यान्वयन हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदन २०८१ मा उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरू कार्यान्वयन हुनुपर्ने सुझाव दिएको छ ।
बाजुराका भूकम्पपीडित चर्किएकै घरमा बास बस्न बाध्य भएका छन् । २०७९ माघ १० गते र २०८० असोज १६ गते गएको भूकम्पले चिराचिरा पारेका घर पुनर्निर्माण नहुँदा पीडित चर्किएको घरमा बास बस्न बाध्य भएका हुन् । भूकम्पले घर चिरा चिरा परे पनि कहीँकतैबाट पुनर्निर्माण सहयोग नपाएपछि तिनै घरमा बास बस्न बाध्य भएको छेडेदह गाउँपालिका–५ का स्थानीय जित सार्कीले बताउनुभयो ।
चार वर्षअघिसम्म बिक्री हुन नसकेर सके खाने, नसके त्यसै खेर जाने कर्णाली प्रदेशका रैथाने बाली अहिले बारीबाटै धमाधम बिक्री हुन थालेका छन् । मानव स्वास्थ्यका लागि लाभदायक रैथाने बाली आम्दानीको राम्रो स्रोत हुन थालेका छन् । अहिले यहाँका कृषक खेतबारीबाटै रैथाने बाली बिक्री हुन थालेको बताउँछन् । रैथाने बालीमा फापर, कोदो, सिमी, चिनो, कागुनो, जौलगायत पर्दछन् । मुगुको छायानाथ रारा नगरपालिका–८, ढोटुकी ४० वर्षीय रामदेवी रावलले पहिले गुजारा गर्ने तरिकाले सामान्य तरकारी खेती गर्नु हुन्थ्यो तर अहिले फापर, कोदो, जौ र सिमी लगाएर उहाँ मनग्गे आम्दानी गर्न थाल्नुभएको छ । रैथाने बाली लगाएपछि उत्पादन पनि ह्वात्तै बढेको उहाँले बताउनुभयो ।
जिल्लाको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । आयोजनामा छ महिनादेखि निर्माण रोकिएको आयोजनाको अहिले छ्यारछ्यारेमाथिको ढाँडखर्कमा अडिट नं. २ सुरुङको काम सुरु भएको आयोजनाले जानकारी दिएको छ । २०७५ सालदेखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको थियो ।