• १२ मंसिर २०८१, बुधबार

दरबाङ म्याग्दीखोला जलविद्युत् निर्माण पुनः सुरु

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), असार १० गते । जिल्लाको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण पुनः सुरु भएको छ । 

आयोजनामा छ महिनादेखि निर्माण रोकिएको आयोजनाको अहिले छ्यारछ्यारेमाथिको ढाँडखर्कमा अडिट नं. २ सुरुङको काम सुरु भएको आयोजनाले जानकारी दिएको छ । २०७५ सालदेखि पूर्वाधार निर्माण सुरु भएको यस आयोजनाको करिब एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको थियो । 

आयोजनाका प्रोजेक्ट म्यानेजर तेजेन्द्र रोकाले भन्नुभयो, “अब हामीले २ नं. अडिटबाट निर्माणको काम थालेका छौँ । आयोजना निर्माणको काम अब रोकिँदैन । विगतमा केही समस्या भएका कारण केही महिना रोकिएको हो । डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेसनको काम पनि अगाडि बढेकाले हामीले आयोजना निर्माणलाई तीव्रता दिन्छौँ ।” 

मालिका गाउँपालिका–६ को गोचा खोलादेखि पूर्वतर्फ पाँच सय मिटर र गोजुवा (इल्पु) तर्फ पाँच सय मिटर गरी एक किमी सुरुङ खनिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुई हजार नौ सय मिटर सुरुङ निर्माण गर्नुपर्नेमा अहिलेसम्म एक हजार मिटर सुरुङ मात्र खनिएको छ । 

मालिका–५, देवीस्थान, ७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ । पाँच अर्ब १५ करोड रुपियाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवर्धक र सर्वसाधारणको सेयर लगानी रहने छ । न्यु लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने आयोजनाले जनाएको छ । 

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गराउने बताउनुभयो । उहाँले निर्माणाधीन डाँडाखेत–राहुघाट प्रसारण लाइन र सबस्टेसनको काम सम्पन्न भएपछि निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाले पनि धमाधम गति लिने बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७, बिमको डाँडाखेत, रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्बाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माण थालेको छ ।