अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। विशेष अदालतबाट भएका फैसलाउपरको पुनरावेदनका विषयमा जारी वक्तव्यका विषयलाई लिएर नेपाल बार एसोसिएसनले आपत्ति जनाएपछि आयोगले यस्तो प्रतिबद्धता जनाएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औं जन्मजयन्तीका अवसरमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिल्ने कामना गर्नुभएको छ। सो जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय विभूति फाल्गुनन्दले देखाउनुभएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वाससमेत व्यक्त गर्नुभएको छ।
पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ । सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन् । यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण तथा मोटरसाइकल खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको जीवनका सङ्घर्ष बारेमा लेखिएको ‘गणेशमान सिंहको सङ्घर्ष’ पुस्तक बिहीबार सार्वजनिक गरिएको छ। सिंहकी कान्छी सुपुत्री डा. मीता सिंहले लेख्नुभएको अङ्ग्रेजी भाषाको सो पुस्तकको नेपाली संस्करण सार्वजनिक गरिएको हो। पुस्तकको अनुवाद आम्निका गिरीले गर्नुभएको हो।
विचाराधीन मुद्दा फस्र्योट बढाउन सुनुवाइसम्बन्धी केही प्रचलित मान्यतामा हेरफेर हुने भएको छ । मुद्दा व्यवस्थापन समितिको सिफारिसमा सर्वोच्च अदालतको पूर्ण बैठकले सुनुवाइसम्बन्धी व्यवस्था परिमार्जनको निर्णय गरेको हो । अदालतमा विचाराधीन मुद्दाको सङ्ख्या निरन्तर बढेसँगै समितिको सिफारिसमा यस्तो निर्णय भएको हो । सर्वोच्च र मातहतका अदालतहरूमा समेत यो निर्णय लागू हुनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार गत वर्षको तुलनामा बढेको छ। असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालनमा रहेको सुपथ मूल्य पसलमा कम्पनीले दुई हजार ९९२ मेट्रिक टन खाद्यवस्तु बिक्री गरेर दुई करोड २४ लाख ३१ हजार २५२ रुपियाँ बराबरको कारोबार गरेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको रिपोर्ट आउन बाँकी रहेकाले यो वर्ष तीन हजार मेट्रिक टन बिक्री भएको अनुमान कम्पनीले गरेको छ।
कात्तिक २५ गते नेपालका १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८ औँ जन्म जयन्ती हो । प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री उम्मेदवार भएको पर्सा क्षेत्र नं. १ (२) मा रोचक प्रतिस्पर्धा हुने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। मुख्यमन्त्री राउतसँग कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी, जसपाका पूर्वजिल्ला अध्यक्ष शशिकपुर मियाँ र लोसपाका तत्कालीन नगरअध्यक्ष ओमप्रकाश शर्राफसँग रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
वर्षा सकिएर जाडोयाम सुरु भइसक्दा पनि यहाँ डेङ्गुको प्रकोप कम भएको छैन। बर्दिबास अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट कृष्णा महर्जनका अनुसार परीक्षण गराउन आएकामध्ये अधिकांशमा अहिले डेङ्गु ‘पोजेटिभ’ देखिएको छ। ‘यो डरलाग्दो अवस्था हो,’ उहाँले भन्नुभयो।
हुम्लाको सिमकोट गाउँपालिकाले रैथाने बालीको तथ्याङ्क सङ्कलन गर्न थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्न सो गाउँपालिकाले आफ्नो क्षेत्रमा ती बालीको उत्पादनको तथ्याङ्क लिन थालेको हो।
हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। नेपालमा पहिलो पटक २०५१ सालमा सामाजिक सुरक्षा भत्ता वितरणमार्फत सामाजिक सुरक्षा कार्यक्रम लागू भएयता सामाजिक सुरक्षा भत्तासहित ८५ भन्दा बढी सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रममार्फत कुल जनसङ्ख्याको ३२ दशमलव ९ प्रतिशत जनता लाभान्वित भएको सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले जानकारी दिनुभयो।
उपराष्ट्रपति नन्दबहादुर पुनले तयारी वस्तु निकासी गर्नुपर्नेमा जोड दिनुभएको छ। नेपाल–चीन उद्योग वाणिज्य सङ्घको बिहीबार सम्पन्न २३औँ वार्षिक साधारण सभाका अवसरमा उहाँले तयारी वस्तुको निकासीबाट मात्रै देशभित्र रोजगारीका धेरै अवसर सिर्जना हुन सक्ने बताउनुभयो। “कच्चा पदार्थभन्दा तयारी वस्तुको निकासीबाट रोजगारीसहित बढी परिमाणमा विदेशी मुद्रा भिœयाउन सकिन्छ,” राष्ट्रपतिको कार्यभारसमेत सम्हालिरहनुभएका उपराष्ट्रपति पुनले भन्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारी हाल आइसल्यान्डको भ्रमणमा हुनुहुन्छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न गोरखा आउनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति त्यस क्षेत्रका मतदाताले मिश्रित प्रतिक्रिया जनाएका छन्। प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। गोरखा आएपछि एकथरी जनताले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अथ्र्याउँदै गोरखामा विकासले गति लिने अपेक्षा गरेका छन्। केहीले भने प्रचण्डले विकास निर्माणको विषयलाई चुनावी एजेन्डा मात्रै बनाएको भन्दै उतिसारो विश्वास गर्न सकेका छैनन्।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले चीनले गरेको गरिबी निवारणबाट नेपालले शिक्षा लिनुपर्ने बताउनुभएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औँ महाधिवेशनको अवसरमा नेपाल चीन मैत्री मञ्चले आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो। गरिबी निवारणमा विश्वमै चीनले पहिलो स्थान हासिल गरेको बताउँदै उहाँले छिमेकी मुलुक भएका कारण नेपालले त्यसको अनुसरण गर्नुपर्ने बताउनुभयो।