• १३ असोज २०८१, आइतबार

न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिबद्ध

blog

काठमाडौँ, कात्तिक २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आयोग पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। विशेष 

अदालतबाट भएका फैसलाउपरको पुनरावेदनका विषयमा जारी वक्तव्यका विषयलाई लिएर नेपाल बार एसोसिएसनले आपत्ति जनाएपछि आयोगले यस्तो प्रतिबद्धता जनाएको हो। 

विशेषका फैसलामा चित्त नबुझाउँदै पुनरावेदन गरेको विवरण अख्तियारले कात्तिक २२ गते सार्वजनिक गरेको थियो। आयोगले कतिपय मुद्दामा विशेषले प्रमाणको उचित मूल्याङ्कन गर्न नसकेको टिप्पणी गरेको थियो। सो टिप्पणीमा बारले बिहीबार आपत्ति जनाएको थियो। बारको आपत्तिपछि अख्तियारले विज्ञप्ति जारी गर्दै यसअघिको वक्तव्यलाई गलत रूपमा नबुझ्न आग्रह गरेको छ। 

आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आयोगबाट जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणका सम्बन्धमा आयोगबाट असल मनसायका साथ गरिएको कार्यलाई सो विपरीत सार्वजनिक निकायहरूबीच भ्रम सिर्जना र द्वन्द्व निम्त्याउने प्रकृतिबाट भएको सम्प्रेषणतर्फ आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। 

अदालतको निर्णयको सम्मान गर्दै आयोग न्यायिक स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको, सम्मानित अदालतको गरिमाप्रति अनास्था फैलाउने विषय कल्पनासम्म पनि गर्न नसकिने र स्वतन्त्र न्यायपालिकाको अवधारणाप्रति सदाझैँ अविचलित रहने हुँदा आयोगबाट मिति २०७९/०७/२२ मा जारी गरिएको प्रेस विज्ञप्ति र जानकारीमूलक विवरणलाई सोही रूपमा बुझिदिनुहुन सम्बन्धित सबैमा आयोग हार्दिक आग्रह गर्दछ।