काठमाडौँ, वैशाख ३० गते । प्रहरीले वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यकाअनुसार आयरल्यान्ड पठाउने भनी ४१ लाख ९० हजार रुपियाँ ठगी गर्ने बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. १ का ३५ वर्षीय प्रेमबहादुर साउद पक्राउ परेका छन् ।
यसैगरी, बेरोजगार युवायुवतीलाई आकर्षक तलब हुन्छ भनी लामो समय झुक्याएर राखी १० लाख रुपियाँ ठगी गर्ने स्थायी घर सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ८ भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ बस्ने २१ वर्षीय ललित बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धन तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।