• १ जेठ २०८२, बुधबार

सहकारीले बारीबाटै कृषि उत्पादन किन्दा कृषक खुसी

blog

रुकुमपूर्वको भूमेमा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

भूमे रुकुमपूर्व, बैशाख ३० गते । लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुमपूर्वमा रहेको एक सहकारी संस्थाले स्थानीय उत्पादनको  बजारीकरणको जिम्मा लिएपछि किसानले उपयुक्त मुल्य पाउन थालेका छन् । 

गाउँमा पहिले पनि कृषि उत्पादन हुने गरेकोमा सहकारीले बजारीकरण गर्न थालेपछि किसानले बजारसँगै उचित मूल्य पाउन थालेका हुन् । यसले स्थानीय उत्पादनमा बृद्धि हुन थालेको छ । 

भूमे गाउँपालिका २ मा रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खाबाङ बगरमा एक हजार ९३५ जना शेयर सदस्य छन् । उहाँहरु गाउँमा रहेका बिभिन्न ४७ वटा समुहमा आवद्ध रहेको सहकारीका अध्यक्ष रामसुर बुढाले जानकारी दिनुभयो । 

२०७५ जेठ महिनामा स्थापना भएको यो सहकारी सुरुमा गाउँपालिकाले उपलब्ध गराएको ३० लाख रुपियाँ अनुदानमा माओवादी सशस्त्र द्वन्द्वका सहिदका परिवार, घाइते अपाङ्गता र अति विपन्न गरी २०७ परिवारलाई शेयर सदस्य बनाइएको छ ।

गाउँपालिकाका पूर्ब अध्यक्ष समेत रहनुभएका सहकारीका अध्यक्ष बुढा पालिकाका प्रत्येक घरधुरीलाई सहकारीको सदस्य बनाउने लक्ष्य रहेको बताउनुभयो ।  सहकारीका अध्यक्ष बुढा भन्नुहुन्छ, ‘मासिक दुई पटक नियमित हुने समूहको बैठकमा किसानको उत्पादनबारे जानकारी राखिन्छ, उहाँहरुले मोटर पुग्ने ठाउँसम्म ल्याउनु हुन्छ, कृषि एम्बुलेन्स पुगेर सहकारीसम्म ल्याउने गरिएको छ ।’ 

 किसानले आलु, सिमी, भटमास, केराउ, लसुन, फापर लगायतका स्थानीय उत्पादन सहकारीलाई बिक्री गर्नेगरेका छन् । किसानले खरिद गरेको उत्पादन सहकारीले खाबाङ बगरमा रहेको कार्यालयसम्म ल्याएर काठमाडौं लगायत बिभिन्न सहरमा पठाउने गरेको छ । 

सहकारीले गत आवमा चार करोड ५० लाख रुपियाँ बराबरको स्थानीय उत्पादनको कारोबार गरेको जनाएको छ । भूमेमा सबैभन्दा बढी उत्पादन आलु हुने गरेको छ । भूमेमा किसानले बिषादीरहित तरकारी र अन्य कृषिउपज उत्पादन गर्ने गरेको सहकारीका अध्यक्ष बुढाले बताउनुभयो ।