गोरखापत्र समाचारदाता
काठमाडौ, वैशाख ३० गते । आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट औपचारिक सञ्चालनमा आएको छ । सोमबार औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आउने जनाइएको हो ।
मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटेलको सोमबार औपचारिक उद्घाटन गरिएको हो । होटेलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङ्क्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, जिमलगायतका सुविधा उपलब्ध छन् । होटेल उद्घाटन समारोहलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा उपलब्ध अलौकिक प्राकृतिक सम्पदा र सम्भावनालाई पर्यटनमार्फत लाभमा रूपान्तरण गर्न आफू लागिपरेको बताउनुभयो । केबुलकारसहितको इला होटेल तथा रिसोर्टको अत्याधुनिक पर्यटकीय पूर्वाधारले नारायणी, देवघाट, त्रिवेणीलगायतका देवभूमि, तपोभूमिसहितका सम्पदाको ऐतिहासिक गरिमा र महिमा तथा यस क्षेत्रको प्रकृति पर्यटनलाई सबै नेपाली तथा विदेशी पर्यटकसमक्ष पु¥याउन थप सघाउन पुग्ने उहाँले बताउनुभयो ।
आइएमई ग्रुपले सात वटै प्रदेशमा केबुलकार, होटेल तथा रिसोर्टसहितको पर्यटकीय पूर्वाधार निर्माण गरिरहेको छ ।हालसम्म तीन वटा प्रदेशमा केबुलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् भने यो होटेल सञ्चालनसँगै दुई वटामा होटेलसहितका आयोजना नै सञ्चालनमा आइसकेका छन् ।
लुम्बिनी केबुलकारको टप स्टेसन वसन्तपुरमा होटेल निर्माण प्रक्रिया अघि बढेको छ भने सुदूरपश्चिमको कैलालीमा होटेल, रिसोर्ट र केबुलकार निर्माणको काम एकसाथ अघि बढिरहेको छ । त्यहाँ अबको एक वर्षभित्र केबुलकार सञ्चालनमा आउने छ भने त्यसको केही समयपछि नै होटेल र रिसोर्ट पनि सञ्चालनमा आउने छन् । त्यस्तै ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण प्रक्रियामा छ ।