• १३ असोज २०८१, आइतबार

प्राकृतिक विपत्तीमा परेकाहरुको उद्धारमा जुट्न एमालेको आग्रह

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १२ गते । ठुलो बर्षापछिको बाढी तथा पहिरोका कारण विपत्तिमा परेकाहरुको उद्धारमा जुट्न नेकपा (एमाले) ले आव्हान गरेको छ । एमाले कार्यबाहक अध्यक्ष ईश्वर पोखरेलले शनिबार सो आह्वान गर्नुभएको हो । 

वर्षाका कारण मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरेको भन्दै मानवीय तथा भौतिक क्षतिले हामी सबैलाई मर्माहत बनाएको उहाँले बताउनुभएको छ । यस्तो दुःखद तथा पीडादायी अवस्थामा उद्धार तथा राहत कार्यमा जुट्न सरकारसित विशेष आग्रह छ, एमालेका पार्टी कमिटीहरू, जनप्रतिनिधिहरु  र जनबर्गीय संगठनहरू सबैलाई समन्वयात्मक रूपमा परिचालन हुन आह्वान गर्दछु, पोखरेलले आग्रह गर्नुभएको छ। 

नेकपा (एमाले) को पार्टी पंक्ति यस काममा तत्परताकासाथ जुट्ने उहाँले बताउनुभएको छ । यस्तो दुःखद अवस्थामा अन्य सबै राजनीतिक पार्टी तथा सामाजिक संगठन, संस्थाहरूलाई पनि यस काममा परिचालित हुन एमालेले आग्रह गरेको छ । 

आम नागरिकहरूमा आफ्नो आवतजावतमा समेत विशेष सतर्कता अपनाउन कार्यबाहक अध्यक्ष पोखरेलले अनुरोध गर्नुभएको छ । विपदमा परी ज्यान गुमाउनु हुने सबैप्रति उहाँले श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । घाइतेहरूको उपचारमा सरकारको ध्यान पुगोस् भन्दै उहाँले सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ ।