• १९ असार २०८१, बुधबार

प्रचण्डसँग गोरखाका जनताको अपेक्षा

blog

सूर्यप्रसाद पाण्डे/नरेन्द्र ढकाल

गोरखा, कात्तिक २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन लड्न गोरखा आउनुभएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति त्यस क्षेत्रका मतदाताले मिश्रित प्रतिक्रिया जनाएका छन्। 

प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ। गोरखा आएपछि एकथरी जनताले उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा अथ्र्याउँदै गोरखामा विकासले गति लिने अपेक्षा गरेका छन्। केहीले भने प्रचण्डले विकास निर्माणको विषयलाई चुनावी एजेन्डा मात्रै बनाएको भन्दै उतिसारो विश्वास गर्न सकेका छैनन्। 

प्रचण्डले यस पटक चुनावी प्रचारको क्रममा गोरखासँग आफ्नो ऐतिहासिक तथा भावनात्मक साइनो रहेकाले अब गोरखाली जनतासँगै रहने वाचा गरिरहनुभएको छ। माओवादी युद्ध सुरु हुनुअघि उहाँले आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा कृषि शिक्षकका रूपमा अध्यापन गर्नुभएको थियो। त्यस्तै माओवादी युद्धको सुरुवात पनि गोरखाबाटै गरेको तथा माओवादीको पहिलो शहीद दिलबहादुर रम्तेल पनि गोरखाकै भएका कारण गोरखा आफ्ना लागि विशेष रहेको भन्दै प्रचण्डले आफूलाई जिताउन कार्यकर्तासँग अनुरोध गरिरहनुभएको छ। 

गोरखाली जनताले प्रचण्डबाट हाल बन्द रहेको गोरखकाली रबर उद्योग र पालुङ्टार विमानस्थल सुचारु, बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण, उत्तरी गोरखा र चाइनाको नाकाको सम्पर्क, चुमनुब्री र धार्चे गाउँपालिकालाई सडक सञ्जालले जोड्नुपर्नेलगायतका विकासका मुद्दा अघि बढाउने अपेक्षा गरेका छन्। 

गोरखाली जनतासँगै रहने वाचा गर्नुभएका प्रचण्ड माओवादी युद्ध सुरु हुनुअघि आरुघाटस्थित भीमोदय माध्यमिक विद्यालयमा कृषि शिक्षकका रूपमा अध्यापन गर्नुभएको 

त्यस्तै लिगिलिगकोट, गोरखा दरबार तथा मनकामना मन्दिर क्षेत्रलाई सर्किट बनाएर धार्मिक पर्यटनको विकास गराउनुपर्ने, लाप्राक र बारपाकलाई केन्द्रित गरेर भूकम्प पर्यटनको विकास गर्नुपर्नेलगायतका मुद्दालाई प्रचण्डले अघि बढाउने अपेक्षा गोरखावासीले गरेका छन्। 

स्थानीय व्यवसायी शिवकुमार श्रेष्ठले भन्नुभयो, “पूर्वप्रधानमन्त्री भइसकेको र फेरि पनि उक्त सम्भावना बोकेको व्यक्ति हुनाले गोरखाली जनताले प्रचण्डबाट यस्तो अपेक्षा गर्नु स्वाभाविक हो।”

गोरखा नगरपालिकास्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीले अहिलेको परिस्थितिमा प्रचण्डले चुनाव जितिहाले पनि विगतमा सोही क्षेत्रबाट निर्वाचित सांसदको जस्तै अन्य अपेक्षा गर्न नसकिने बताउनुभयो। दुवाडीले भन्नुभयो, “धेरैले प्रचण्ड गोरखा आएपछि ठूलै परिवर्तन हुन्छ भन्ने भ्रम पालेको देख्छु तर मैले भने उहाँबाट विकास र परिवर्तनको अपेक्षा गरेको छैन।”

तर गोरखाकै अर्का स्थानीय धर्मेन्द्र श्रेष्ठले भने पूर्वप्रधानमन्त्री र पार्टीका अध्यक्षसमेत भएका कारण गोरखाका जनताले प्रचण्डबाट धेरै अपेक्षा गरेको बताउनुभयो। उक्त क्षेत्रबाट प्रचण्डसँगै एमालेको तर्फबाट अब्दुस मियाले प्रतिस्पर्धा गरिरहनुभएको छ। त्यस्तै नेपाल स्वतन्त्र पार्टीका केन्द्रीय सहमहामन्त्रीसमेत रहनुभएका कवीन्द्र बुर्लाकोटी पनि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। 

यी उम्मेदवारबीच तुलना गर्दा उमेरको हिसाबले निकै अन्तर देखिए पनि दुवै पक्ष चुनावी नतिजालाई आफ्नो पक्षमा ल्याउन तीव्र प्रचारप्रसारमा लागिरहेका छन्। गोरखामा ११ वटा स्थानीय तह छन्। क्षेत्र नम्बर २ अन्तर्गत सिरानचोक गाउँपालिका, अजिरकोट गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका तथा गोरखा नगरपालिकाको वडा नम्बर ८ देखि १४ को क्षेत्र पर्छ। यीमध्ये गत स्थानीय तहको निर्वाचनमा सिरानचोक गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसले जितेको थियो भने अन्य सबैमा माओवादीका उम्मेदवारले जितेका थिए। 

गोरखा माओवादीका शीर्ष नेता भएको जिल्ला हो। माओवादी पार्टीबाट अलग्गिएका तर अहिले चुनावी एकता गरिरहनुभएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पार्टी सचिव तथा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे तथा पार्टीका युवा नेता लेखनाथ बुर्लाकोटी पनि यही क्षेत्रका बासिन्दा हुनुहुन्छ।