नेपथ्यले अस्ट्रेलियाका शान्त केन्द्रीय राजधानी क्यानबेराको मञ्चमा आफ्नो ब्यान्डको पहिलो प्रस्तुति दिएको छ। कन्सर्ट सुरु हुँदा ब्यान्डले पहिलो गीत उसलाई स्थापना गराउने पहिलो सिर्जना अर्थात् ‘आँगनैभरि हिउँनै झरे’बाट सुरु गरेको थियो। त्यसपछि लगत्तै दोस्रो एल्बमको सर्वकालिक हिट गीत ‘छेक्यो छेक्यो’ सुनायो।
दोलखाको भीमेश्वर नगरपालिका–७ मकै बारी पुवाँलेमा एकाघरका चार भाइको संयुक्त आठ करोड रुपियाँको लगानीमा साबुन उद्योग सञ्चालनमा आएको छ ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र)मा राजस्व मोडल सञ्चालनमा आएको छ । सरकारको कोष तथा लेखा व्यवस्थापन र सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयले उक्त मोडल सञ्चालनमा ल्याएको हो ।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखाको पर्यटकीय नगरी जिरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। साधारण सभापछि जारी जिरी घोषणापत्र २०७९ मा अहिले पनि विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारहरूको अधिकार र हितका लागि आवश्यक नीति बनाएर काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। उहाँले आफू विगतमा पनि श्रमजीवी पत्रकारको पक्षमा रहेकाले मुख्यमन्त्री भएपछि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो। रेडियो मकवानपुरको १३औँ वार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाको आइतबार हेटौँडामा उद्घाटन गर्दै उहाँले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभयो।
स्वास्थ्यमन्त्री पदम गिरीले गरिब विपन्नले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकार तयार भएको बताउनुभएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सरकारी राजस्वबाहेक अन्य कुनै पनि शुल्क नबुझाउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेसँग केही संस्थाले पैसा लिएको गुनासो आउने क्रम बढेपछि मन्त्रालयले विज्ञप्तिमार्फत सचेत गराएको हो ।
नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन बैङ्कबाटै हुने भएको छ । बैङ्कले सोमबारदेखि नै व्यवस्थापन समूहलाई संस्थाका काम कारबाही अगाडि बढाउन तीन सदस्यीय व्यवस्थापन समूह पठाउने भएको हो । राष्ट्र बैङ्कले सुपर लघुवित्त वित्तीय संस्थाले कृत्रिम ऋणी खडा गरेर ऋण प्रवाह गरेको र सुधारका लागि सुझाव दिँदासमेत थप कृत्रिम ऋणी खडा गरेर ऋण प्रवाह गर्ने कार्य नरोकी गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको भन्दै सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बन गरेर तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको जनाएको छ ।
सर्लाहीमा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव खड्किएको छ। सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालय र हरिवन तथा बरहथवामा रहेका इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको अभाव भएको हो। कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ।
नेपाली सेनाले संयुक्त राष्ट्र संघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारी साधन दर्ताका लागि माग गरेको छ ।
झापाको दमकमा निर्माणाधीन ‘दमक भ्युटावर’को आसपासमा एकीकृत जग्गा व्यवस्थापनको काम सुरु भएको छ। नेपालकै सबभन्दा अग्लो हुने भनिएको भ्युटावरसँगै ‘स्मार्ट सिटी’ अर्थात् नयाँ सहर विकासका लागि एकीकृत जग्गा व्यवस्थापनको प्रक्रिया सुरु भएको हो।
धनगडीमाई नगरपालिका–११ स्थित सामुदायिक महेन्द्र गेनाइ स्मृति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। यसबाट स्थानीयहरू सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। धागडीमाई नगरपालिका, लहान नगरपालिका १३ र २४ नम्बर वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाका स्थानीयले यहाँबाट सेवा लिँदै आएका छन्। लहान–२४ का गेनाइ महतोले एक बिघा र महेन्द्र महतोले दस कट्ठा गरी डेढ बिघा करोडौँ मूल्यको जग्गा दिएपछि अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।“घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उहाँले भन्नुभयो“धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।”
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेहरूलाई मुआब्जा वितरण गर्न सुरु गरिएको छ । आयोजना निर्माण क्षेत्र भोटखोला–२ र ५ का ३८५ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गर्न सुरु गरिएको हो । हालसम्म ११४ परिवारलाई ५३ करोड ४७ लाख १५ हजार ६६२ रुपियाँ मुआब्जा वितरण गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिर २६ गतेदेखि सुरु गरी हालसम्म उक्त मुआब्जा रकम वितरण गरिएको हो ।
ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञले बताउनुभएको छ । प्रदेश १ मा ३४ हजार मेगावाट क्षमताका आयोजना बन्न सक्ने भए पनि लगानी प्रोत्साहन गर्ने नीति नभएको उहाँहरूको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)ले आइतबार आयोजना गरेको ‘प्रदेश १ को दिगो विकासका लागि ऊर्जा’ विषयक कार्यशालामा सहभागी विज्ञहरूले उक्त धारणा व्यक्त गर्नुभएको हो ।