• १२ मंसिर २०८१, बुधबार

‘स्वास्थ्य सेवा सहज बनाइने’

blog

चितवन समाचारदाता

चितवन, माघ २३ गते । स्वास्थ्यमन्त्री पदम गिरीले गरिब विपन्नले सहज रूपमा स्वास्थ्य सेवा लिन सक्ने गरी व्यवस्था मिलाउन सरकार तयार भएको बताउनुभएको छ। 

प्रेस चौतारी चितवनले स्थापना दिवसको अवसरमा नारायणगढको आँपटारीमा आयोजना गरेको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै मन्त्री गिरीले गरिबका लागि सरकार छ भन्ने अनुभूति दिने गरी काम गर्न सरकार लागिरहेको बताउनुभयो। 

पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनु पर्ने अवस्थाको अन्त्य गर्न सरकार लागिरहेको बताउनुभयो। मन्त्री गिरीले भन्नुभयो, विकृति, विसङ्गतिका चाङ स्वास्थ्य क्षेत्रमा छन्, तमाम गरिब विपन्न जनताले स्वास्थ्य सेवा पाउन सकेको अवस्था छैन। पैसाको अभावमा उपचारबाट वञ्चित हुनु पर्नेको सङ्ख्या धेरै छ। 

सरकारको चाहना गुणस्तरीय स्वास्थ्य सेवा गाउँगाउँमा लैजाने रहेको पनि उहाँले बताउनुभयो। स्थापना दिवसको अवसरमा प्रेस चौतारी चितवनले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कारबाट संस्थापक विष्णु छिमेकीलाई नगदसहित सम्मान ग-यो।