वासिङ्टन, पुस ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’हुने धारणा व्यक्त गर्नु भएको छ । अमेरिकी नौसेनाले भेनेजुएलाको तेल सम्पतिमाथि नाकाबन्दी कडा बनाउँदै दबाब बढाइरहेका बेला ट्रम्पको यो अभिव्यक्ति आएको हो ।
मदुरोले करिब १२ वर्षदेखि सत्ता सम्हाली रहनुभएको सन्दर्भमा पत्रकारले उहाँलाई राजीनामा दिन बाध्य पार्ने उद्देश्य हो कि भन्ने प्रश्न सोध्दा ट्रम्पले निर्णय मदुरो स्वयंको हातमा रहेको बताउनुभयो । ट्रम्पले ‘उहाँले त्यसो गर्नु बुद्धिमानी हुने छ’ भन्दै चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया दिनु भयो ।
ट्रम्पले मदुरोले कडा अडान लिएको खण्डमा त्यो अन्तिम पटक मात्र हुने चेतावनीसमेत दिनु भयो । यसको जवाफमा भेनेजुएलाका राष्ट्रपति मदुरोले ट्रम्पलाई आफ्नै देशको घरेलु समस्या—विशेष गरी आर्थिक र सामाजिक चुनौतीमा ध्यान केन्द्रित गर्न सुझाव दिनु भयो । सार्वजनिक टेलिभिजनमार्फत सम्बोधन गर्दै मदुरोले अमेरिकाले आफ्ना आन्तरिक मामिला सम्हाल्न सके विश्व समुदायका लागि पनि सकारात्मक सन्देश जाने धारणा राख्नु भयो ।
यसैबिच, भेनेजुएलाका प्रमुख सहयोगी रुसले मदुरो सरकारप्रति ‘पूर्ण समर्थन’ दोहोर्याएको छ । युक्रेन युद्धमा व्यस्त रहेको मस्कोले बढ्दो सङ्कटबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकको पूर्वसन्ध्यामा आफ्नो समर्थन सार्वजनिक गरेको हो । रूसी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री सर्गेई लाभ्रोभ र भेनेजुएलाका समकक्षी इवान गिलबिच फोनवार्ता भएको थियो, जसमा अमेरिकी कारबाहीको कडा आलोचना गरिएको छ ।
रुसी पक्षले क्यारेबियन सागरमा अमेरिकी गतिविधि बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय स्थिरता र अन्तर्राष्ट्रिय ढुवानीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ । साथै, वर्तमान परिस्थितिमा भेनेजुएलाको नेतृत्व र जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गरिएको छ । अमेरिकाले सेप्टेम्बरदेखि क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागु औषध तस्करीको आरोप लगाउँदै डुङ्गामाथि आक्रमण थालेको जनाएको छ ।
तर, भेनेजुएलाका परिवार र सरकारका अनुसार ती कारबाहीमा १०० भन्दा बढी मानिस मारिएका छन्, जसमा निर्दोष माझी परेका छन् । पछिल्लो आक्रमणमा पूर्वी प्रशान्त महासागरमा रहेको एक सानो जहाजमा प्रहार हुँदा एक जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।
गत हप्ता ट्रम्पले भेनेजुएलाबाट आउने-जाने ‘प्रतिबन्धित तेल जहाज’ रोक्ने घोषणा गर्नु भएको थियो । उहाँले काराकासले तेलको आम्दानी लागु औषध आतङ्कवाद, मानव बेचबिखन, हत्या र अपहरणमा प्रयोग गरिरहेको आरोप लगाउनु भयो । यसको प्रतिउत्तरमा भेनेजुएलाले अमेरिकामाथि शासन परिवर्तन खोजेको र अन्तर्राष्ट्रिय पाइरेसी गरेको आरोप लगाएको छ ।
रुस र चीनले भेनेजुएलाको आग्रहमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठक बोलाउने प्रस्तावलाई समर्थन गरेका छन् । मस्कोको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मञ्च, विशेष गरी संयुक्त राष्ट्रसङ्घमा आपसी समन्वय बढाउने सहमति भएको उल्लेख छ । यसै क्रममा भेनेजुएलाका विदेशमन्त्री गिलले टेलिग्राममार्फत क्यारेबियन क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, गैरन्यायिक हत्या र अमेरिकी समुद्री कारबाहीबारे छलफल भएको जानकारी दिनु भएको छ ।
उहाँका अनुसार लाभ्रोभले भेनेजुएलाविरुद्धको शत्रुताको सामना गर्न रुसको पूर्ण समर्थन पुनः पुष्टि गर्नु भएको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने भेनेजुएलालाई रुसले दिएको समर्थनलाई कम आँक्दै, रुस युक्रेन युद्धमा व्यस्त भएकाले वासिङ्टन चिन्तित नभएको टिप्पणी गर्नु भएको छ । युक्रेन युद्धको समाधान नआउँदा ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेसँगै अमेरिका–रुस सम्बन्धमा तनाव देखिएको छ ।
यसै सन्दर्भमा, राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रलाई सम्बोधन गर्दै पठाएको पत्र राज्य टेलिभिजनमा पढेर सुनाइएको छ, जसमा अमेरिकी नाकाबन्दीले विश्वव्यापीरूपमा तेल र ऊर्जाको आपूर्तिमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ । रासस/एएफपी