• ८ पुस २०८२, मङ्गलबार

अमेरिकाको मेक्सिकन विमान दुर्घटनामा पाँच जनाको मृत्यु

blog

मेक्सिको सिटी, पुस ८ गते । अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ–सेनाको चिकित्सा सामाग्री बाेकेको विमान दुर्घटना ग्रस्त भएपछि कम्तिमा पाँच जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

मानवीय अभियानमा रहेको विमानमा आठ जना यात्रु सवार रहेको मेक्सिकोको सेना सचिवालयले एक विज्ञप्तिमार्फत जनाएको छ । सुरुवाती समयमा दुर्घटनामा दुई जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा हाल मृतकको सङ्ख्या बढेर पाँच जना पुगेको जनाइएको छ भने दुर्घटनाबाट दुई जना यात्रु बाच्न सफल भएको जनाइएको छ ।  

अमेरिकी तटरक्षकको खोजी प्रयासका बावजुद उक्त उडानमा रहेका एक जना व्यक्ति अझै बेपत्ता रहेको सचिवालयले जनाएको छ । विमान टेक्सासको ग्यालभेस्टन नजिक पुग्दा दुर्घटना भएको जनाइएको छ । विशेष चिकित्सा वहाक मिसनलाई मेक्सिकन फाउन्डेसनसँग समन्वय गरिएको थियो जसले गम्भीर जलेका बच्चाको हेरचाह गर्दछ ।

फ्लाइट ट्र्याकिङ वेबसाइट फ्लाइट रडारका अनुसार विमानले मेक्सिकोको युकाटन राज्यको मेरिडाबाट उडान भरेको थियो भने अन्तिम पटक स्कोल्स अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको ग्यालभेस्टन खाडीमा पुगेको जानकारी रेकर्ड गरिएको थियो । रासस/एएफपी