• १२ मंसिर २०८१, बुधबार

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ २३ गते । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिको तेस्रो साधारण सभा दोलखाको पर्यटकीय नगरी जिरीमा १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

साधारण सभापछि जारी जिरी घोषणापत्र २०७९ मा अहिले पनि विभिन्न पक्षबाट पत्रकारमाथि आक्रमण तथा धम्की आउने क्रम नरोकिएकाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पूर्ण रूपमा कार्यान्वयन गर्न माग गरिएको छ।

बागमती प्रदेश पत्रकार महासङ्घका महासचिव कृष्ण सारूले मोफसलका अधिकांश सञ्चारमाध्यम स्वरोजगारमूलक उद्योगका रूपमा स्थापित भएको र मिडिया क्षेत्रलाई उद्योग वा व्यवसायको रूपमा नहेरिँदा सञ्चारमाध्यमले राज्यबाट पाउने सुविधाबाट वञ्चित हुनु परेको भन्दै मिडियालाई उद्योगका रूपमा परिभाषित गर्दै सेवा सुविधा उपलब्ध गराउन सरकारसँग माग गरेको जानकारी दिनुभयो।

साथै पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषको दायराभित्र ल्याउने गरी नीति परिमार्जन गर्न, सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनका कतिपय प्रावधान प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने भएकाले ती ऐनलाई परिमार्जन गर्दै सञ्चार क्षेत्रसँग सम्बन्धित ऐनहरू सञ्चारकर्मीमैत्री बनाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ। 

घोषणापत्रमा स्थानीयस्तरमा सञ्चालित स्वरोजगारमूलक सञ्चारमाध्यमलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि आवश्यक नीति बनाई समानुपातिक विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको छ। 

पत्रकारको न्यूनतम पारिश्रमिकलाई समयानुसार परिमार्जन गर्न पनि आग्रह गरिएको छ। सबै सञ्चारमाध्यमले समयमै उचित पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गर्न साधारण सभा माग गर्नुका साथै श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ।

पत्रकार महासङ्घलाई क्रियाशील पत्रकारहरूको मात्र संस्था बनाउने अभियानअन्तर्गत सदस्यता शुद्धीकरण अभियानलाई महासङ्घको विधान तथा केन्द्र र प्रदेशको निर्देशनको अधिनमा रहेर काम गर्न जिल्ला शाखाहरूलाई साधारण सभाले आग्रह गरेको छ।

दोलखाको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय नगरी जिरी तथा दोलखाका विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा आवश्यक योजना बनाउन साधारणसभाले सङ्घीय र प्रदेश सरकारसँग माग गर्दै क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी बनाउने जिरी नगरपालिकाको अभियानमा दुवै तहका सरकारलाई आवश्यक नीति बनाउन आग्रह गरेको महासचिव सारूले बताउनुभयो।

प्रदेशका चितवन र काभ्रेमा पत्रकार प्रशिक्षण केन्द्र निर्माणमा सहयोग गर्न तथा दोलखा शाखाको भवन निर्माणको कामलाई पूर्णता दिन र रसुवा शाखाको भवन निर्माण प्रक्रिया सुरुवातका लागि सहयोग गर्न प्रदेश सरकारसँग साधारण सभाले आग्रह गरेको छ।