• १९ असार २०८१, बुधबार

गेनाइ स्मृति अस्पताल सञ्चालन

blog

लहान समाचारदाता 

लहान, माघ २३ गते । धनगडीमाई नगरपालिका–११ स्थित सामुदायिक महेन्द्र गेनाइ स्मृति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। यसबाट स्थानीयहरू सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। 

धागडीमाई नगरपालिका, लहान नगरपालिका १३ र २४ नम्बर वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाका स्थानीयले यहाँबाट सेवा लिँदै आएका छन्। लहान–२४ का गेनाइ महतोले एक बिघा र महेन्द्र महतोले दस कट्ठा गरी डेढ बिघा करोडौँ मूल्यको जग्गा दिएपछि अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो। 

अस्पताल नहुँदा धनगडीमाईका विकटमा पर्ने १२, १३ र १४ नम्बरका स्थानीय सामान्य उपचार र प्रसूति सेवाका लागि लहान, धरान र विराटनगर जानुपर्ने बाध्यता थियो। अस्पताल सुचारु भएपछि ग्रमीण र दुर्गम भेगको ठूलो समस्या टरेको धनगडीमाई–११ का पूर्ववडाध्यक्ष गङ्गाप्रसाद यादवले खुसी व्यक्त गर्नुभयो । 

मङ्सिर १९ गतेदेखि अस्पताल सञ्चालनमा आउँदा अहिलेसम्म आठ सय बिरामी बालबालिका र प्रसूतिलाई उपचार गरिसकेको अस्तालका प्रशासकीय प्रमुख दीपेन्द्र सिंहले जानकारी दिनुभयो। २०६८ सालमा नै अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आउन सकेको थिएन। २०७९ को स्थानीय निर्वाचन सम्पन्न भएपछि नगरप्रमुख शिवशङ्कर महतोले अस्पताल सञ्चालनका लागि अस्पतालका दाता परिवार र व्यवस्थापन समितिका अध्यक्ष गङ्गाराम महतोसँग समन्वय गरी सञ्चालनमा ल्याएको थियो। 

माघ २० गते भारतीय राजदूत नवीन श्रीवास्तवले विधिवत् उद्घाटन गरी अस्पताल सञ्चालनका लागि एम्बुलेन्स, पर्खाल निर्माण अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सिरहा–१ (क)बाट निर्वाचित प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी र समानुपातिक प्रदेश सभा सदस्य ललितादेवी दासले अस्पतालमा रहेको अभाव पूरा गरी यस ग्रामीण भेगका महिला र बालबालिकाको उपचारका लागि स्तरीय र नमुना बनाउन पहल थालिने विश्वास दिलाउनुभयो। 

भारतीय दूतावासबाट महेन्द्र गेनाइ र प्राकृतिक आयुर्वेदिक अस्पताल निर्माण कार्य गरिदिएकोमा नगरप्रमुख महतोले धन्यवाद दिँदै अस्पतालमा तत्कालै चाहिने चिकित्सक, ल्याब टेक्निसियन उपकरण र फर्निचर कम्प्युटरको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। 

५१ शøयाका लागि निर्माण भएको यस अस्पतालमा तत्कालै २५ बेड सञ्चालन भइरहेको छ। अस्पतालमा दुई जना एमबीबीएस चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन, एचए, सीएमएलगायतका कर्मचारीहरू भर्ना गरेर ओपीडी सेवा सुचारु भएको छ। 

अस्पताल सञ्चालनमा भइरहेको ढिलाइबारे गोरखापत्रमा पटक–पटक समाचार सम्प्रेषण गरेपछि अस्पताल सुचारुका लागि सरोकारवालाको ध्यान केन्द्रित भएको र गोरखापत्र पत्रिकाको ठूलो योगदान रहेको भन्दै अस्पतालको अध्यक्ष गङ्गाराम महतोले गोरखापत्र पत्रिका परिवारप्रति अभार प्रकट गर्नुभयो।