• १२ मंसिर २०८१, बुधबार

पत्रकार कोषका लागि प्रदेश सरकार सकारात्मक

blog

मकवानपुर समाचारदाता

हेटौँडा, माघ २३ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले श्रमजीवी पत्रकारहरूको अधिकार र हितका लागि आवश्यक नीति बनाएर काम गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ। 

उहाँले आफू विगतमा पनि श्रमजीवी पत्रकारको पक्षमा रहेकाले मुख्यमन्त्री भएपछि पनि सहयोग गर्न तयार रहेको बताउनुभयो। रेडियो मकवानपुरको १३औँ वार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारण सभाको आइतबार हेटौँडामा उद्घाटन गर्दै उहाँले पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गर्नुभयो। 

मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशभित्र कार्यरत पत्रकारका सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्न सामाजिक सुरक्षा कोषका लागि ५० लाख रुपियाँ प्रदान गर्ने घोषणा गर्दै सामाजिक सुरक्षा कार्यक्रमका लागि सञ्चारकर्मी र सञ्चार संस्थासमेत जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। 

उहाँले भन्नुभयो, उमेर हुँदा र कुनै दुर्घटना वा भवितव्य नपर्दासम्म सहजै काम गर्न सकिन्छ। कुनै समस्या हुँदा वा बिरामी पर्दा कसरी खर्च जुटाउने त्यसैले पत्रकार सामाजिक सुरक्षा कोष आवश्यक र पत्रकारलाई कार्यक्रम लागू भएपछि आबद्ध हुन उहाँले आग्रह गर्नुभयो। 

उहाँले आफू व्यक्ति र संस्थालाई अनुदान दिने प्रणालीको विपक्षमा रहेको बताउँदै व्यक्तिलाई अनुदान दिँदा व्यक्ति मात्र धनी भएकाले अब समुदायलाई अनुदान दिने गरी प्रदेश सरकारले नीति बनाउन लागेको बताउनुभयो। उत्पादन प्रणालीमा परिवर्तन आवश्यक भएको बताउँदै उहाँले सहकारी संस्थाहरूलाई पालिका वा वडा लक्षित गरेर लगानी गर्न आग्रह गर्नुभयो। 

प्रदेश सरकारले टुक्रे योजनामा लगानी नगर्ने र मझौला र गुणात्मक परिणाम दिने योजनामा लगानी गर्ने बताउनुभयो।