• १२ मंसिर २०८१, बुधबार

सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैङ्कबाटै

blog

गोकर्ण पौडेल 

तुलसीपुर, माघ २३ गते । नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन बैङ्कबाटै हुने भएको छ । 

बैङ्कले सोमबारदेखि नै व्यवस्थापन समूहलाई संस्थाका काम कारबाही अगाडि बढाउन तीन सदस्यीय व्यवस्थापन समूह पठाउने भएको हो ।

राष्ट्र बैङ्कले सुपर लघुवित्त वित्तीय संस्थाले कृत्रिम ऋणी खडा गरेर ऋण प्रवाह गरेको र सुधारका लागि सुझाव दिँदासमेत थप कृत्रिम ऋणी खडा गरेर ऋण प्रवाह गर्ने कार्य नरोकी गम्भीर प्रकृतिका अपराधजन्य कार्य गरेको भन्दै सुपर लघुवित्तको सञ्चालक समितिलाई निलम्बन गरेर तीन सदस्यीय व्यवस्थापन समूह गठन गरेको जनाएको छ ।    

नेपाल राष्ट्र बैङ्कका सूचना अधिकारी नारायणप्रसाद पोख्रेलले स्थलगत निरीक्षणका क्रममा संस्थाका संस्थापक तथा सञ्चालकले लामो समयदेखि लघुवित्तको दुरुपयोग गरेर कृत्रिम ऋणी खडा गर्दै ऋण प्रवाह गरिरहेकाले सञ्चालक समितिलाई निलम्बन गर्ने अवस्थामा पुगेको बताउनुभयो ।   

दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको संस्थालाई राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको थियो । बैङ्कले संस्थाको सञ्चालक समितिलाई निलम्बनसमेत गरेको छ । बैङ्कले सार्वजनिक सूचना जारी गर्दै माघ २३ गतेदेखि राष्ट्र बैङ्कले ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी संस्थाको कार्यालयमा पठाउने सूचनामा उल्लेख गरिएको छ । 

राष्ट्र बैङ्कले सुपर लघुवित्तको गएको असोज महिनासम्म प्राथमिक पुँजी कोष ३४ दशमलव ३० प्रतिशत तथा पँुजी कोष ३२ दशमलव ६५ प्रतिशतले ऋणात्मक रहेको, संस्थाको बचतसमेत घट्दो अवस्थामा रहेको, आन्तरिक नियन्त्रण प्रणाली र संस्थागत सुशासनसमेत कमजोर देखिएको जनाएको छ ।

सोही विषयलाई ध्यानमा राखेर राष्ट्र बैङ्कले लघुवित्तको यथास्थितिमा राख्दै बचतकर्ता, सापटी प्रदान गर्ने संस्था तथा लगानीकर्ताको समेत हित प्रतिकूल हुने देखिएकाले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ ग. को उपदफा १ को खण्ड (ण)अनुसार सञ्चालक समिति निलम्बन गरेको जनाएको हो । यसका लागि राष्ट्र बैङ्कले एक हप्ताअघि प्रक्रिया अगाडि बढाएको थियो ।

सूचना अधिकारी पोख्रेलले सुपर लघुवित्त वित्तीय संस्थालाई कारोबारको स्वीकृति दिएको भन्दै त्यसको नियमन, निरीक्षण त्यसको पारदर्शिताका लागि राष्ट्र बैङ्कको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले राष्ट्र बैङ्कले लघुवित्तको आर्थिक सबलीकरण, सक्षम कारोबार तथा संस्थागत सुधारको काम गर्ने  बताउनुभयो । 

सुुपर लघुवित्त वित्तीय संस्थाका कायममुकायम कार्यकारी अधिकृत बुद्धिराम चौधरीले राष्ट्र बैङ्कले सञ्चालक समिति निलम्बन गरेको विषयमा संस्थालाई जानकारी प्राप्त नभएको बताउनुभयो । संस्थाले २०५९ सालदेखि दाङ, बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा २४ शाखाको माध्यमबाट १६ हजार सदस्यमार्फत कारोबार गर्दै आएको छ । सुपर लघुवित्तले प्रभु बैङ्क, शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क, साङ्ग्रिला डेभलपमेन्ट बैङ्क र आरएमडीसीबाट ऋण लिएर कारोबार गर्दै आएको छ ।