डोल्पासँग सिमाना जोडिएको रुकुमपश्चिमको विकट गाउँ गोतामकोटमा पहिलो पटक विद्युत् सेवा पुगेको छ। आठबिसकोट नगरपालिका–५, गोतामकोटमा विद्युत् सेवा पुग्दा स्थानीयवासी हर्षित भएका छन्।
छेडागाड नगरपालिका–८, घोगी पजारुमा रहेका प्राचीन चैत्य, गुम्बा, देवलहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। निकै आकर्षक र ऐतिहासिक ती देवल संरक्षणप्रति सरोकारवालाले चासो नदिँदा ओझेलमा परिरहेका छन्। १३औँ शताब्दीमा जाजरकोटमा भोटेहरूले शासन गरेको र उनीहरूले नै यी देवल बनाएको जाजरकोटका इतिहासकारहरूको भनाइ छ। जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्री ढुङ्गा कुँदेर बनाइएका ती कलात्मक चैत्य, गुम्बा, देवलहरू ऐतिहासिक रहेको बताउनुहुन्छ।
भैरहवास्थित बाल सुधारगृहमा भौतिक पूर्वाधारको अभावका कारण व्यवस्थापनमा समस्या भएको छ। सुरक्षाकर्मीका लागि बनेको भवनमा बालकहरू राख्नुपर्दा विभिन्न किसिमको समस्या देखिने गरेको बाल सुधारगृहका प्रमुख सुभद्रा गौतमले बताउनुभयो। यसअघि एक तलामा मात्र विभिन्न मुद्दाका बालकहरू राखिँदै आएकोमा क्षमताभन्दा बढी बालक आउन थालेपछि भुइँ तलाको थप दुईवटा कोठा प्रयोग गरिएको छ। सो भवनमा हाल ७० देखि ८० बालक राख्न सकिने गौतमले बताउनुभयो। यसअघि सुधारगृहको क्षमता ४० जनासम्म थियो। अहिले ७५ जना बालक रहेका छन्।
प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४ मा पुरातत्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषलगायतको टोलीले पोखरीको भौतिक सर्वेक्षण गरेको छ।
बागलुङ नगरपालिका–१, रामरेखा निवासी सीताकुमारी खड्काले शनिबार राति अस्टे«लिया हिँडेका छोराबुहारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुभयात्राको आशीर्वादसहित बिदाइ गर्नुभयो। खुसीका साथ कान्छा छोराबुहारीलाई बिदाइ गरी आइतबार घर फर्किनुभएकी खड्का गन्तव्यमा पुग्न पाउनु भएन। यती एयरलाइन्सको विमानबाट घर फर्किंदै गर्दा पोखरामा भएको दुर्घटनामा परी उहाँ सधैँका लागि बिदा हुनुभयो।
हम्सेदुम्से सामुदायिक वनमा रहेका जङ्गली हात्ती बस्तीमा पसेपछि हात्ती नियन्त्रणका लागि समस्या भएको छ। सोमबार राति वन उपभोक्ता समितिका अध्यक्ष चन्द्र गुरागाईंसहित स्थानीयको घरमा जङ्गली हात्तीको बथानले क्षति पु-याएको छ। एक सातादेखि निरन्तर रूपमा बस्तीमा हात्ती प्रवेश गरेर क्षति पु-याउँदै आएको र गत राति आफ्नो घरको पर्खाल भत्काएको अध्यक्ष गुरागाईंले जनाउनुभयो। हात्तीले स्थानीयको घरका विभिन्न संरचना भत्काएको र बालीनालीसमेत खाएर नष्ट गरिदिएको गुरागाईंको भनाइ छ। स्थानीय तुलसी पुरीका अनुसार दिनहुँ हात्ती आउन थालेपछि ज्यान जोगाउन नै मुश्किल बन्न थालेको छ। दिनभर हम्सेदुम्से सामुदायिक वनभित्र रहने हात्ती बेलुका भएपछि गाउँमा पस्ने गरेको उहाँले बताउनुभयो।
लहानको मिथिला म्यानपावरबाट वैदेशिक रोजगारका लागि मलेसिया पुगेका दुई जना युवा काम नपाएर त्यहाँ अलपत्र परेका छन्। लहान नगरपालिका–१ का गायत्री रामका छोरा विष्णु राम र सखुवानन्कारकट्टी गाउँपालिका–३ का झरिलाल यादवका छोरा श्यामसुन्दर यादव अलपत्र परेका हुन। आल्मुनियम कम्पनीमा मोबाइल मर्मतको काम भनेर दुवै जनासँग जनही तीन/तीन लाख रुपियाँ लिएर कात्तिक महिनाको अन्तिम साता मलेसिया पठाइएको थियो।
वनका ठूला र अग्ला रुख मासिएपछि अचेल वनमौरी (स्थानीय भाषामा ‘घारे’ वा ‘खाँगमौरी’) बिरलै देखिन थालेको छ। अनधिकृत रूपमा वनजङ्गल फडानी गरी बस्ती बसेपछि अग्ला रुख मासिँदै आएका छन्। तस्करले वनका ठूला र अग्ला रुख कटान गरी चोरी निकासी गर्नाले बास स्थान नै नभएर वनमौरी कम देखिन थालेको हो। वनमौरीले घार बनाउन रुचाउने वनका ठूला र अग्ला रुख मासिएपछि ती प्रजातिको मौरी सहर बजारको अग्ला पानी ट्याङ्कीमा वा घरको ‘टप’ तल बसेको देखिन्छ।
विराटनगर–६, ब्रह्मपुरामा रहेको ल्यान्डफिल्ड साइट चौबिसै घण्टा धुवाँइरहन्छ। महानगरपालिकामा उत्पादन भएको फोहोर डम्पिङ गर्ने ल्यान्डफिल्ड साइटमा साधारण मात्रै नभई अस्पतालका सिरिन्ज र सिसीदेखि रगत लत्पतिएका कपडासमेत जल्ने गरेको छ। अस्पतालजन्य फोहोर सङ्कलन गरेर आगो लगाउने गरिएको स्थानमा मङ्गलबार विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीसहितको टोलीले निरीक्षण गरेको छ। त्यस क्रममा विराटनगरका अस्पतालको फोहोरसमेत सङ्कलक कम्पनीले पैसा लिएर त्यहाँ पु-याउने गरेको देखिएको हो।
वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतलाई मानवता सेवाका लागि इसा पुरस्कार प्रदान गरिने भएको छ । नेपालमा सस्तो उपचार विधिबाट रोकथाम गर्न सकिने अन्धोपनाको दर आधाले घटाएर मानवता सेवा गरेका आधारमा बहराइनको उच्च अवार्ड प्रदान गरिने भएको हो । बहराइन राज्यले हरेक दुई वर्षमा प्रदान गर्ने प्रतिष्ठित पुरस्कार स्वर्ण पदक र १० लाख डलर रहेको छ । यो पुरस्कार विपत् रोकथाम र राहत, शिक्षा र मानव सहिष्णुतालगायत ११ वटा विधामध्येबाट प्रदान गरिन्छ ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गर्नुभएको हो। प्रकाशित कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका ४८ जनाको शव काठमाडौँ ल्याई पोस्टमार्टम सुरु गरिएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शवको पोस्टमार्टम थालिएको जानकारी दिँदै शव पूर्ण रूपमा जलेको हुनाले पोस्टमार्टम गर्न समय लाग्ने बताउनुभयो। काठमाडौँमा पोस्टमार्टम गर्न ल्याइएका शव आफन्तले समेत चिन्न सक्ने अवस्थामा छैनन्।
दुबई उठानद्वारा काठमाडौंबाट दुबई हुँदै क्रोएसिया जान लागेका २१ जनाबाट प्रहरीले ५१ हजार ३५० युरो बरामद गरेको छ ।
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा परेका १ जनाको मात्रै अवस्था अज्ञात रहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख टेकबहादुर केसीका अनुसार सम्पर्कविहीन रहेका २ जनाको खोजी कार्यमा जटिल भएपछि सेती नदीको पानी घटाइएको छ ।
मधेश प्रदेश सभाको उप सभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिता कुमारी राउत ईशर बहुमतले निर्वाचित हुनुभएको छ ।