• २८ पुस २०८१, आइतबार

चलचित्र साक्षरता कार्यशाला

blog

गोरखापत्र समाचारदाता

ललितपुर, पुस २८ गते । बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई चलचित्रको आधारभूत ज्ञान र सिप सिकाउने कार्यशालाको आयोजना गरेको छ । सञ्चार रजिस्ट्रारको कार्यालयले सोमबारबाट सुरु गरेको उक्त कार्यशालाको शुक्रबार समापन गरेको हो । 

कार्यशालामा बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने जीवनपयोगी सिप सिकाएर भविष्यमा रोजगारी सिर्जना गर्न मद्दत पुग्ने बताउनुभयो । त्यस्तै सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले शिक्षक र विद्यार्थीले चलचित्र निर्माणको पूर्वतयारी, यसको चरण र निर्माणपछिका आधारभूत सिप कार्यशालामा सिकाइएको जानकारी दिनुभयो । 

कार्यशालामा फरक फरक विधाका फरक फरक नौ जना प्रशिक्षकले चलचित्रमा उपयोग हुने पात्रको भूमिका, अभिनय, छायाङ्कन, सम्पादन, बजारीकरण र वितरणको आधारभूत ज्ञान र सिप सिकाइएको सञ्चार रजिस्ट्रार सापकोटाको भनाइ छ । कार्यक्रममा चलचित्र सम्पादक शिव पुरीले चलचित्रको परिचय, प्रकार  निर्माण, पाण्डुलिपि परिचय, क्यामरा परिचय, निर्देशन र अभिनय सम्बद्ध जानकारीलगायत प्रकार (कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, श्रव्यदृश्य प्रतिवेदन)  र चलचित्रको विकासबारे प्रशिक्षण दिनुभएको थियो । कार्यशालामा प्रशिक्षार्थीलाई चलचित्र निर्माण, पटकथा लेखन, उत्पादनका बारेमा प्राविधिक पक्षका साथै सैद्धान्तिक र व्यावहारिकको पनि प्रशिक्षण दिइएको थियो ।