• २८ पुस २०८१, आइतबार

माछा पोखरीमा डुबेर गौचनको मृत्यु

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस २८ गते । मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको माछा पालन गर्ने पोखरीमा डुबेर मृत्यु भएको छ । गौचनको आफ्नै माछा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

पोखरीमा डुबेको अवस्थामा मृत्यु भएको भन्दै जानकारी पाए पछि घटनास्थल पुगेको प्रहरी टोलीले आवश्यक घटनास्थल मुचुल्का गरी जिल्ला अस्पताल मुस्ताङमा पोस्टमार्टम गरेपछि सब परिवारलाई बुझाएको थियो । इन्स्पेक्टर पौडेलको कमान्डमा गएको टोलीले अनुसन्धान गरेको र मृत्युको कारण डुबेर हुन सक्ने प्रारम्भिक अनुमान गरेको जनाइएको छ । 

दुई छोरीका बाबा पूर्ण घरमा एक्लै बस्दै आएको र आफूले पालेको माछालाई दाना हाल्न जाने क्रममा शनिवार चिप्लेर पोखरीमा डुबेर मृत्यु भएको जस्तो घटना स्थलको प्रकृति हेर्दा देखिएको प्रहरीले जनाएको छ । पोस्टमार्टम पछि मृतकको सब सदरमुकाम जोमसोम बस्दै आउनु भएकी छोरी नमितालाई बुझाएको प्रहरीले जनाएको छ ।