पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा चुनौतीपूर्ण परिस्थिति आएपछि मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) सँग मिलेर सरकार बनाइएको प्रस्ट पार्नुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसमा आयोजित समारोहलाई बुधबार सम्बोधन गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था, बहुदलीय लोकतन्त्र र सम्पूर्ण उपलब्धि रक्षार्थ एमालेसँग सत्ता सहकार्य गरेको बताउनुभएको हो ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले आज र भोलि टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो ।
कालजयी गीत ‘राजमती’ को नेपाली भाषामा पुनः लेखन, सङ्गीत गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सो गीतको नेपाली भर्सन सार्वजनिक गर्नुभएको हो । नेपालका पहिलो गायक सेतुराम प्रधानले विसं १९६५ ताका भारतको कोलकाता गई नेपाली र नेपाल भाषाका राजमतीसहित १४ वटा गीत आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराउनुभएको थियो । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो घटना यही हो ।
कर्णाली प्रदेशका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कर्णाली प्रदेशमा ललितकलाको गतिविधिलाई अघि बढाउन सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । मन्त्री शाहीले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान कर्णाली प्रदेश समन्वय समितिको आयोजनामा ‘कर्णालीमा ललितकला’ छलफलमा सो धारणा व्यक्त गर्नुभएको हो ।
दार्चुलामा जन्मिनुभएकी देउडा गायिका दीपा रोकाया गायनमा सक्रिय रही डोटेली भाषाको प्रवर्धन गरिरहनुभएको छ । सङ्गीतप्रतिको मोहले घरसल्लाहबिना घरबाट भागेकी गायिका रोकायाले पहिलो पटक गोरख थापाको शब्दमा गीत गाउने अवसर पाउनुभयो । गायक भुवनप्रकाश बडूसँग ‘देनतरो आइगयो कुरमुरे उज्यारो भइगो’ गाउनुभएको थियो । त्यो गीत जब एफएम रेडियोमा बज्न थालेपछि मात्र परिवारले छोरी गायिका बनेको थाहा पाएका थिए ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा, युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८२ पैसा कायम छ । साथै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको छ ।
नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लाग्नुभएको हो ।
पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म ४५ अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको हो । सडक मर्मत शुल्कबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ । पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमा सो शुल्क उठाउने गरिन्छ । जुन रकम सरकारको खातामा सिधै जम्मा हुने गर्छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित थप चार राजदूतको सुनुवाइ गरेको छ । समितिले प्रस्तावित १७ मध्ये बुधबारसम्म १३ जनाको सुनुवाइ गरेको छ । बुधबार रुसका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहान, साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठ र दक्षिण कोरियाका लागि प्रस्तावित डा. शिवमाया तुम्बाहाङ्फेको सुनुवाइ भएको छ । समितिको कार्यतालिका अनुसार अब स्पेन, श्रीलङ्का, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइ बाँकी छ । प्रस्तावित सबैको सुनुवाइ सकेपछि समितिले अनुमोदनबारे निर्णय गर्ने छ । सुनुवाइका क्रममा प्रस्तावित राजदूत चौहानले रुसमा युद्धमा सहभागी भएका नेपाली नागरिकलाई स्वदेश फिर्ताको पहल गर्ने बताउनुभयो । उहाँले नागरिकको स्वदेश फिर्तीका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभयो ।
मुख्य सचिव एकनारायण अर्यालले सबै निजामती कर्मचारीलाई सिर्जनशील भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले निजामती सेवाप्रति आमसेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् भन्दै सेवाप्रति समय समयमा विभिन्न गुनासा आइरहेकाले सेवालाई विश्वसनीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाउने खेलाडी पलेशा गोवर्धनलाई सरकारले कर नकटाइ रु ६५ लाख राशिको पुरस्कार दिने घोषणा गर्नुभएको छ।
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताउनु भएको छ ।
चीनले सेप्टेम्बर ११ देखि १३ सम्म ‘बेल्ट एण्ड रोड’ मा रहेका देशहरूका लागि बौद्धिक सम्पत्ती (आइपी) सम्बन्धी तेस्रो उच्चस्तरीय सम्मेलन बेइजिङमा आयोजना गर्ने भएको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।