• १४ वैशाख २०८१, शुक्रबार

कलाकारका सङ्कल्प: नयाँ ठाउँ घुम्नेदेखि समयमा खानेसम्म

blog

काठमाडौँ, वैशाख २ गते । भित्तामा फेरिने क्यालेन्डरसँगै धेरैले नयाँ सपना बुन्न थाल्छन्। विगतका दुःख र कष्ट, पीडा असफलता दोहोरिएर नआओस् भन्ने कामना गर्दै आगामी दिनको सुन्दर कल्पनासहित नयाँ योजना पनि तय गर्ने गर्छन्। यही मेसोमा नेपाली सिनेजगत्का विभिन्न व्यक्तिहरूले नयाँ वर्षमा के–कस्तो काम गर्ने योजना बनाएका छन् भनी गोरखापत्रले बुझ्ने प्रयास गरेको छ।  

नयाँ वर्षको सङ्कल्पबारे निर्देशक विकास राज आचार्य भन्नुहुन्छ, “म सङ्कल्प गर्दिनँ तर राम्रो चलचित्र बनाउने प्रयत्न भने गर्छु।” चलचित्रमार्फत नयाँ ठाउँ घुमेर त्यसको प्रचार गर्ने उहाँको योजना छ। “नयाँ वर्षको मेरो प्रयत्न भनेको कम बोल्ने, बढी सुन्ने र राम्रो काम गरेर देखाउने हो। म यो वर्षबाट अरूलाई विश्वास गर्ने काम अलि कम गर्छु। साथै सेयर पनि किन्दिनँ किनकि धेरैले मलाई डुबाए।’’ 

आफ्नो चलचित्रले राम्रो व्यापार नगरेको अवस्थामा कलाकारहरू मठमन्दिर गएर सङ्कल्प गर्ने गरेका छन्। चलचित्र राम्रो चलोस् भनेर प्रार्थना गर्छन्। नायिका रेखा थापा नयाँ वर्षमा खासै सङ्कल्प नभएको बताउनुहुन्छ। असल र सही तरिकाले काम गर्ने उहाँको योजना छ। देश र समाज रूपान्तरणका लागि अझ बढी सशक्त भूमिकामा प्रस्तुत हुने योजनामा छु। नयाँ वर्षलाई महìव दिएर ठूला ठूला सङ्कल्प बनाउने मात्र हुन्छन् भन्ने पनि होइन। नयाँ वर्षलाई सामान्य तरिकाले लिने कलाकार पनि हुनुहुन्छ। खासै सङ्कल्प नराख्नुभएको अभिनेता रमेश बुढाथोकी नयाँ वर्षदेखि आफ्नो खराब बानीलाई सुधार्ने बताउनुहुन्छ। व्यस्तताका कारण आफू र परिवारलाई खासै समय दिन नसक्नुभएकी नायिका ऋचा शर्मा नयाँ वर्षसँगै आफ्नो समय व्यवस्थापनमा सुधार ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “समय व्यवस्थापन नै मेरो नयाँ वर्षको सङ्कल्प हो। आफ्नो ख्याल राख्छु। यो वर्षदेखि सकेसम्म कसैको पनि चित्त नदुखाउने र दुःखी नबनाउने सोचमा छु।”

नयाँ वर्षको नयाँ बिहानीले धेरैमा खुसी र सुख लिएर आएको छ। अघिल्लो वर्ष पूरा गर्न नसकेका अथवा गर्न चाहँदा चाहँदै पनि विभिन्न कारणले अपूरा रहेका काम २०८० मा पूरा गर्ने धेरैको योजना हुन्छ। खानपानको समय व्यवस्थापन गर्न नसक्दा दिक्क बन्नुभएका गायक युवराज चौँलागार्इं नयाँ वर्षसँगै आफ्नो स्वास्थ्यमा सुधार ल्याउने बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, “कामले गर्दा खाने समय मिलिरहेको हुँदैन, त्यही कारणले कहिलेकाहीँ बिसन्चो हुन्छ। त्यसैले स्वास्थ्यको हेरचाह र समयमा खाना खाने नै मेरो नयाँ वर्षको सङ्कल्प हो।”