• १४ वैशाख २०८१, शुक्रबार

नयाँ शैक्षिक सत्रका लागि पुस्तक वितरण सुरु

blog

काठमाडौँ, चैत २५ गते । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । 

नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो । यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पु-याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक 

कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ । वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ । जसका लागि एक करोड ५० लाखथान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । 

उहाँले छाप्नुपर्नेमध्ये एक करोड ४० लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गर्नुभयो । उहाँले बाँकी १० लाखथान पाठ्यपुस्तकको छपाइ 

चैत मसान्तसम्म सकिने बताउनुभयो । कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा भने निजी मुद्रण संस्थालाई दिइएको छ र उनीहरूले एक करोड २० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुन सक्छ । यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन ।”

केन्द्रका प्रबन्ध सञ्चालक झाले २४सै घण्टा प्रेस सञ्चालन गरेर भए पनि समयमै पाठ्यपुस्तक पु-याउने लक्ष्यअनुसार काम भइरहेको र अब एक हप्तामा सबै पाठ्यपुस्तक छपाइ पूरा हुने जानकारी दिनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा स्थानीय तहमा रकम निकासा गरिसकेको छ ।

विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेको भन्दै सरकारको आलोचना हुने गरेको थियो । यस पटक पनि सोही अवस्था दोहोरिन नदिन सरकारले पुस्तक छपाइको निरन्तर अनुगमन गरिरहेको छ । 

केन्द्रले पनि पुस्तक छपाइको विषयमा मन्त्रालयलाई निरन्तर जानकारी गराइरहेको छ ।